arrow

राष्ट्रसङ्घको सुधार एवं पुनःसंरचनामा जोड दिएको छु : परराष्ट्रमन्त्री 

logo
रासस,
प्रकाशित २०७८ असोज १४ बिहिबार
khadka-arrive.JPG

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा राष्ट्रसङ्घको सुधार एवं पुनःसंरचनामा जोड दिएको बताएका छन् । बिहीबार अमेरिकाबाट स्वदेश फर्किएका खड्काले सञ्चारकर्मीलाई विमानस्थलमा महासभालगायत न्युयोर्कमा रहँदा भएका भेटवार्ताबारे जानकारी दिँदै दिँदै यस्तो बताएका हुन् । 

मन्त्री डा खड्काले भने, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा निहित सिद्धान्त र उद्देश्यहरूप्रति नेपालको अटुट प्रतिबद्धता दोहोर्‍याउँदै उक्त संस्थाले विश्व शान्ति, सद्भाव तथा विकासका क्षेत्रमा निर्वाह गरेको भूमिकाको सराहना गरेँ । वर्तमान चुनौतीलाई दृष्टिगत गरी बहुपक्षीयता थप सुदृढ हुनुपर्ने तथा राष्ट्रसङ्घको सुधार एवं पुनःसंरचनामा जोड दिएको छु” । 

'अति कम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउँदै ती राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी एवं असमानता हटाउँदै जानुपर्नेमा विशेष जोड दिएको छु ।”

महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुगेका उनले सभालाई सम्बोधन गर्दै समकालीन विश्वका प्रमुख मुद्दाहरूमा नेपालको धारणा, कोभिड-१९ महामारीले सिर्जना गरेको सङ्कट र यसको निदानका लागि खोपमा सहज पहुँच, स्वास्थ्य सामग्रीको सहज उपलब्धता, जलवायु परिवर्तन, हिमाली राष्ट्रका समस्या र दिगो विकासका सम्बन्धमा नेपालका चासो, तिनको परिपूर्तिका लागि साधन स्रोतको व्यवस्था, नेपालजस्ता भूपरिवेष्टित र अतिकम विकसित राष्ट्रका साझा समस्या, मानवअधिकार, आतङ्कवाद तथा निःशस्त्रीकरण नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए ।

साथै उनले भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेश मन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

परराष्ट्रमन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबिचको सहयोगात्मक सम्बन्धबारे विचार विमर्श गरेका थिए । अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी भएका थिए ।

मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ