arrow

ललितपुर र भैरहवाबीचको खेल टाई, अन्तिम बलमा शरदको छक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
EPL-LTP-BHR.jpg
तस्विर साभार: एभरेष्ट प्रिमियर लिग (फेसबुक)

काठमाडौँ। ललितपुर पयाट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल बराबरीमा सकिएको छ। प्रकाशको कमीले सुपर ओभर हुन नपाएको खेलमा दुवै टोलीले १-१ अङ्क बाँडेका छन्। 

अन्तिम बलमा भैरहवाका लागि ७ रन  चाहिएको स्थितिमा कप्तान शरद भेषावकरले छक्का प्रहार गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। एक समय सहज जित तिर अघि बढिरहेको ललितपुरका विरुद्ध उपुल थरंगा र कुशल मल्लको जोडीले भैरहवालाई जितको नजिक पुर्‍याएका थिए। 

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटमा भैरहवाले १५औं ओभरमा ४ विकेट गुमाउँदा १ सय १३ रन मात्र बोर्डमा थियो। त्यसपछि मल्ल र थरंगाले पारी सम्हाल्दै खेल टाईसम्म ल्याइपुर्‍याए। अन्तिम बलमा कप्तान भेषावकरले छक्का प्रहार गर्दै भैरहवालाई १ अङ्क दिलाएका थिए। 

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो। ललितपुरका सन्दुन विराकोद्दीले ५८ रन बनाएका थिए। त्यसैगरि अज्मतुल्ला ओमरजाईले ४२ रन बनाए भने सन्दिप जोराले ३८ रनको योगदान गरेका थिए। भैरहवाका अविनाश बोहोराले २ विकेट लिएका थिए। 

जवाफमा ब्याटिङ गर्न ओर्लेको भैरहवाले पनि निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७७ रन बनायो। भैरहवाका उपुल थरंगाले आउट नभई ६७ रन बनाएका थिए। उनले ४४ बल खेल्दा ३ छक्का र छ चौका प्रहार गरेका थिए। कुशल मल्लले १९ बलमा ३५ रन बनाएका थिए। ललितपुरका रसिद खानले ३ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच उपुल थरंगा घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ