arrow

धोनीको नेतृत्व चम्कियो, चेन्नई प्लेअफमा पुग्ने पहिलो टिम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
dhoni-chennai-ipl-2021.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शारजाहमा बिहीबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नई प्लेअफमा पुग्ने पहिलो टिम बनेको हो । 

हैदराबादले दिएको १३५ रनको विजयी लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ३८ बलमा ४५ तथा फाप डु प्लेसिसले ४१ रन जोडे । 

कप्तान महेन्द्र सिंह धोनीले ११ बलमा नटआउट रहँदै १४ रन जोडे । हैदराबादका जासन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए ।

हैदराबादको इनिङ्स

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेटको नोक्सानीमा १३४ रन बनाएको थियो । हैदराबादका रिद्दिमान शाहले ४४ रन बनाए । अविशेक शर्मा र अब्दुल समादले १८–१८ रन जोडे । 

प्लेयर अफ द म्याच चेन्नईका जोश हाजलउडले २४ रन खर्चेर ३ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए ।

अंक तालिका 
जितसँगै शीर्ष स्थानको चेन्नईले ११ खेलमा १८ अंक जोडेको छ । हारले हैदराबादको प्लेअफ सम्भावना सकिएको छ । हैदराबादको ११ खेलमा मात्र ४ अंक छ । 

११ औं चरणको समाप्तिसम्म दिल्ली क्यापिटल्स १६ अंकबाट दोस्रो, रोयल च्यालेन्जर्स बैंगलोर १४ अंकबाट तेस्रो, कोलकाता नाइट राइडर्स १० अंकबाट चौथो, मुम्बई इन्डियन्स १० अंकबाटै पाँचौं, पंजाब किंग्स ८ अंकबाट छैटौं तथा राजस्थान रोयल्स ८ अंकबाट सातौं स्थानमा छ । 

प्लेअफमा पुग्ने तीन टिमको छिनोफानो बाँकी रहेका तीन चरणका खेलले गर्नेछन् । 



नयाँ