arrow

विराटनगरमाथि ललितपुरको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
EPL-LLP-BRT.jpg
ललितपुरका अज्मतुल्ला ओमरजाई। तस्विर साभार: एभरेष्ट प्रिमियर लिग (फेसबुक)

काठमाडौं। ललितपुर ग्लाडियटर्सले बनाएको ठुलो स्कोर पछ्याउन नसक्दा विराटनगर वारियर्स ३७ रनले पराजित हुन पुगेको छ। ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २६ रन बनाएको थियो।

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटमा टस जितेर पहिले क्षेत्ररक्षण रोजेको विराटनगरले ललितपुरलाई ठुलो स्कोर बनाउन बाट रोक्न सकेन । ललितपुरका लागि सन्दुन विराकोद्दीले ४३ बलमा ३ छक्का र १० चौकाको मदतले ७३ रन बनाएका थिए। त्यसैगरि मध्य क्रममा आएका अज्मतुल्ला ओमरजाई २४ बलमा ७ छक्काको मदतले ५८ रन बनाएका थिए। 

कप्तान कुशल भुर्तेलले १७ बलमा ३७ रनको योगदान दिए। उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए। योगेन्द्र सिंह कार्कीले १८ बलमा ३ छक्का र १ चौकाको मदतले २७ रन बनाएका थिए। विस्फोटक ब्याटिङको क्रममा नारायण जोशीले ४ बलमा ३ छक्काको मदतले १८ रन बनाएका थिए। 

ललितपुरले आफ्नो पारीमा १९ छक्का र १५ चौका प्रहार गरेको थियो। विराटनगरबाट दिलसन मुनाविरा बाहेक सबै बलरहरू महँगो साबित भएका थिए । मुनाविराले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए। कप्तान करण केसीले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट हात पारेका थिए। अन्य बलरहरूमा प्रतिस जिसीले ३ ओभरमा ४३ रन दिँदा १ विकेट पाएका थिए भने रामनरेश गिरीले ४ ओवरमा ५४ रन खर्चेका थिए। त्यसैगरि सिकन्दर राजाले २ ओवरमा २७ रन दिएका थिए। बसन्त रेग्मीले ४ ओभरमा ४४ रन दिएका थिए। 

जवाफमा ब्याटिङ गर्न ओर्लेको विराटनगरको सुरुवात राम्रो भएको थियो। ३.४ ओभरमा ५० रनको साझेदारी भएको थियो। त्यसैगरि १०.३ ओभरमा दोस्रो विकेट गुमाएको विराटनगरले १ सय ५ रन जोडिसकेको थियो। तेस्रो विकेटको पतन हुँदा १४.४ ओभरमा १ सय ५० रन जोडिसकेको थियो। यहाँबाट ललितपुर खेलमा हाबी भएको थियो। 

अन्ततः विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रनमा खुम्चिन पुग्यो। विराटनगरका लागि दिलसन मुनाविराले ५९ रन बनाएका थिए भने आशिफ शेखले ३७ रनको योगदान दिएका थिए। ललितपुरका अज्मतुल्ला ओमरजाईले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिएका थिए।त्यसैगरि ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिएका थिए। 

खेलका प्लेयर अफ म्याच ललितपुरका अज्मतुल्ला ओमरजाई घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ