- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन्।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड ’पिसिआई डिएसएस भि थ्रि।टु।वान प्रमाणीकरण प्राप्त संस्था हो।
कम्पनीले सेवा सुरु गर्ने बित्तिकै कोभिड महामारीका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैङ्क तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको सङ्ख्या बढाउन सफल भएको हो। हाल फोनपेको क्युआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ। यस्तै अन्तर बैङ्क रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रुपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ।
फोन पे बैङ्किङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सात वटै प्रदेशमा पुगिसकेको छ। फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैङ्क तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैङ्किङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको कम्पनीले जनाएको छ।