arrow

आईपीएलमा कोलकातालाई पन्जाबले हराउँदा मुम्बईलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
ipl-punjab-kings-preety.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । यूएईको दुबईमा शुक्रबार राति भएको खेलमा पन्जाबले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्न सफल भएको हो । 

कोलकाताले दिएको १६६ रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो । पन्जाबको जितमा कप्तान लोकेश राहुलले ५५ बलमा ६७ रन बनाए ।

पहिलो विकेटका लागि लोकेशसँग मिलेर ७० रनको साझेदारी गर्ने क्रममा मायांक अग्रवालले २७ बलमा ४० रन जोडे । वरुण चक्रवर्तीले २ विकेट लिए ।

कोलकाताको इनिङ्स
पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको नोक्सानीमा १६५ रन बनाएको थियो । वैंकटेश ऐयरले ४९ बलमा ६७ रन बनाए । राहुल त्रिपाठीले ३४ तथा नितिस रानाले ३१ रन बनाए ।

पन्जाबका अश्रदिप सिंहले ३ विकेट लिए । रबि बोस्नाईले २ विकेट लिए ।

अंक तालिका
यस जितसँगै पन्जाबले १२ खेलमा १० अंक जोडेको छ । पन्जाब पाँचौं स्थानमा रहेको छ । कोलकाता १२ खेलबाट १० अंक जोडेर चौथो स्थानमा रहेको छ ।

पन्जाबले प्लेअफ सम्भावनालाई जिवित पार्न सफल भएको छ । 

कोलकाताको हारले भने मुम्बई इन्डियन्सलाई केही भए पनि राहत मिलेको छ । अर्थात् मुम्बई ११ खेलबाट १० अंकसहित छैटौं स्थानमा धकेलिएको भए पनि उसले १२ औं खेलमा जित हासिल गर्न सक्यो भने स्पष्ट दुई अंकको अन्तरसहित चौथो स्थानमा पुगेर प्लेअफ सम्भावनालाई बलियो राख्नेछ । 

१२ औं चरणका खेलहरु शुरु हुँदा तीन खेलअघि नै चेन्नई सुपर किङ्स ११ खेलबाट १८ अंकसहित प्लेअफ सुरक्षित गर्ने पहिलो टिम बनेको छ । 

दिल्ली क्यापिटल्स ११ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ भने ११ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ । 

सातौं स्थानको राजस्थान रोयल्सको ११ खेलबाट ८ अंक छ भने प्लेअफ सम्भावनाबाट बाहिरिएको सनराइजर्स हैदराबादको ११ खेलबाट मात्र ४ अंक छ । 

 



नयाँ