- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अक्टोबर महिनाभित्र कोरोना भाइरसविरुद्धको थप २६ लाख डोज खोप भित्रिने भएको छ । पछिल्लो पटक चीनबाट खरिद गरिएको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज भेरोसेल खोप सेप्टेम्बर १७ (असोज १ गते) नेपाल भित्रिएको थियो ।
हाल, भारतको सेरम इन्स्ट्युटसँग गत फागुनमै खरिद सम्झौता भइसकेको आउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप अक्टोबर महिनासम्म भित्रिने तयारी भइरहेको छ । यस्तै, चीन सरकारले अनुदान दिने भनेको १६ लाख डोज भेरोसेल खोप पनि अक्टोबरसम्म भित्रिने भएको हो ।
चीनबाट अनुदान स्वरूप मिल्ने १६ लाख र भारतबाट खरिद सम्झौता मार्फत आउने १० लाख डोज गरी कुल २६ लाख डोज खोप अक्टोबर महिनाभित्र नेपाल भित्रिने भएको हो ।
अक्टोबर महिनाभित्र चीन र भारतबाट खोप भित्र्याउने गरी तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. उपेन्द्र ढुङ्गानाले बताएका हुन् ।
'चीनले अनुदान दिने १६ लाख र भारतबाट १० लाख डोज खोप अक्टोबरभित्र भित्र्याउने तयारी भइरहेको छ,' उनले भने । 'चीनसँग थप खोप खरिद गर्ने तयारी भए पनि तत्काल सम्झौता अघि नबढेको' डा. ढुङ्गानाले बताए ।
अनुदान स्वरूप दिने खोप भित्रिएपछि चीनसँग थप खोप खरिद गर्ने प्रक्रिया अघि बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको शनिवार सम्मको तथ्याङ्क अनुसार लक्षित जनसङ्ख्याको ३५.४ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै २९.२ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।