arrow

बैंगलोर प्लेअफमा, कोलकाता लाइनमा, मुम्बई मुस्किलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
ipl-kolkata-hyderabad.JPG

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्रिकेटको प्ले अफमा प्रवेश गर्न सफल भएको छ । यूएईको शारजाहमा आइतबार भएको खेलमा पन्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

बैंगलोरले दिएको १६५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेटको नोक्सानीमा १५८ रन मात्र बनाउन सक्यो ।

जित नजिक पुगेर पनि घुँडा टेकेको पन्जाबका लागि मयांक अग्रवालले ५७ रन बनाए । पहिलो विकेटका लागि ९१ रनको शानदार साझेदारी गर्ने क्रममा कप्तान लोकेश राहुलले ३९ रन बनाएका थिए । 

तर यति सशक्त शुरुआत गर्दासमेत पन्जाबले घार बेहोर्यो । बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।

बैंगलोरको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो । ग्लेन म्याक्सवेलले ३३ बलमा ५७ रन बनाए । 

यस्तै देबदुत पडिकलले ४० रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । पन्जाबका मोहमद शामी र मोइसेस हेन्रिसले ३–३ विकेट लिए ।

कोलकाता प्लेअफको लाइनमा
कोलकाता नाइट राइडर्सले पनि सफलता हासिल गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा कोलकाताले पुछारको राइजर्स हैदराबादलाई ६ विकेटले हरायो ।

हैदराबादले दिएको ११६ रनको विजयी लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

कोलकाताको जितमा ओपनर सुबमन गिलले ५७ तथा नितिश रानाले २५ रन बनाए । हैदराबादका जासन होल्डरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेटको नोक्सानीमा ११५ रन बनाएको थियो । 
निकै कमजोर खेलेको टिमका लागि कप्तान केन विलियमसनले सर्वाधिक २६ रन बनाएका थिए । 

कोलकाताका टिम साउथी, शिबम माभी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

अंक तालिका र प्लेअफ समीकरण
यो खेलअघिसम्म १२ खेलबाट १८ अंकसहित चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाइसकेका अवस्थामा बैंगलोर १६ अंकसहित प्लेअफमा पुग्न सफल भएको छ । 

अब यिनै तीन टिममध्येबाट दुईले क्वालिफायरमा स्थान बनाउने छन् । प्लेअफका लागि अब बाँकी रहेका चारमध्ये एक टिमले मौका पाउने छन् । 

जसमा प्रवल सम्भावना कोलकाताले बोकेको छ । कोलकाताको १३ खेलमा १२ अंक भएको छ । पन्जाबले अवसर गुमाएको छ । उसको १३ खेलमा १० अंक रहेको छ । 

त्यस्तै राजस्थान रोयल्स र मुम्बई इन्डियन्सको १२ खेलमा १० अंक छ । डिफेन्डिङ च्याम्पियन मुम्बई सातौं स्थानमा छ र प्लेअफ मुस्किल बन्दै गएको छ । 

४ अंकबाट पुछारको हैदराबाद यसअघि नै यो होडबाट बाहिरिएको थियो । 



नयाँ