- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन् । पार्टीका सङ्गठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरे ।
उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही साबित भएको उनको तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति सङ्केत गर्दै स्वार्थवश, कुण्ठावश, ईर्ष्यावश केही साथीहरू अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताए ।
उनले भने, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनी आएका थियौ । त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिर्पोटिङ भयो, त्यसले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन । केही साथीहरू स्वार्थवश, कुण्ठावश, ईर्ष्यावश पार्टीबाट अलग भए । केही साथीहरू भ्रममा परे । तर भ्रममा रहेका साथीहरू क्रमशः फर्किरहेका छन् ।’
उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे । सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति सङ्केत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रूपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए ।
उनले भने, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरूमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रूपमा फरक मत राखेन भने देखिन उ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौँ । औपचारिक रूपमा माईन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिँदैन । अव यस पटकको जहाँसम्म सन्दर्भ छ । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन । विचार त सबैले व्यक्त गर्यौं हामीले स्थायी कमिटीको बैठकमा, केन्द्रीय कमिटीको बैठक, विधान महाधिवेशनमा । सबै ठाउँमा हामीले आफूलाई लागेका कुराहरू बोल्यौँ । तर अझ औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरक मत प्रस्तुत गरेको अवस्था होइन । त्यस कारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, सङ्गठनमा सबै हिसाबले एकताबद्ध छ ।’
उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरू बढी प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरेका छन् । हिजो (आइतबार) सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका थिए । उपमहासचिव पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताए ।
उनले भने, ‘महाधिवेशन निर्धारित समयमै हुन्छ । हिजो अध्यक्षले विधान महाधिवेशनको सन्दर्भमा बुटवलमा राष्ट्रिय महाधिवेशन आयोजना हुने कुरा घोषणा गर्नु भएको छ । भव्यतापूर्वक आयोजना हुन्छ । तोकिएकै समयमा आयोजना हुन्छ । सफलतापूर्वक सम्पन्न हुन्छ । त्यसले राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)को भूमिकालाई अरू बढी प्रभावकारी बनाएर जान्छ ।’
उपमहासचिव पौडेलले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘एकता भावका साथ प्रवेश गर्यौं । एकताभावका साथ छलफल गर्यौं। सहमति र सर्वसम्मतिले निर्णय गर्यौं । र एकताबद्ध भएर हल बाहिर निस्कियौँ । यो चाहिँ महाधिवेशनको विशिष्ट विशेषता हो भन्ने म ठान्दछु । यसले चाहिँ आम जनता र कार्यकर्ताप्रति पार्टीको भरोसा बढाएको छ ।’