- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४ औँ महाधिवेशनको क्रममा कार्यकर्ताहरूमा अपूर्व उत्साह र ऊर्जा थपिएको बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ५ र नुवाकोट जिल्लाका वडा र गाउँ नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रम पछि उनले सो कुरा बताएका हुन् । उनले यो उत्साह र ऊर्जाले आउँदो चुनावमा नेपाली काँग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने सङ्कल्प पूरा गर्न थप प्रेरित गरेको पनि बताएका छन् ।
बधाई तथा शुभकामना कार्यक्रम पछि डा. महतले सामाजिक सञ्जालमा लेखेका छन् , ' सम्पूर्ण साथीहरूमा देखिएको उत्साहले नेपाली काँग्रेसलाई वैचारिक रूपमा सबल, सङ्गठित,अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा सङ्कल्प पूरा गर्ने आत्मविश्वास बढाएको छ ।'
सह-महामन्त्री डा.महतले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा वडा , गाउँ / नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुभएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि साथीहरूलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
उनले काठमाडौँ जिल्ला क्षेत्र नं ५ र नुवाकोटबाट निर्वाचित पदाधिकारी र प्रतिनिधिहरूलाई विजयादशमीको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको पनि उल्लेख गरेका छन् ।