- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सफलता हासिल गर्दै चितवन फाइनलमा पुगेको हो । टीयू क्रिकेट मैदानमा बुधबार भएको खेलमा शीर्ष स्थानमा रहेर लिग सकाएको चितवन र दोस्रो स्थानमा लिग सकाएको पोखरा राइनोजबीचको खेलमा चितवनले सहज निकालेको हो ।
खेलमा चितवन ९ विकेटले विजयी भयो । खेलमा टस जितेर चितवनले पहिले फिल्डिङ गर्दै कसिलो बलिङ गर्यो । बलरहरु चम्केको खेलमा निरीह देखिएको राइनोजले १५ ओभर मात्र क्रिजमा टिकेर ६६ रन बनायो । रिचर्ड लेभीले १९ रन बनाएको इनिङ्समा तीन खेलाडीले मात्र दोहोरो स्कोर बनाए ।
सागर ढकालले १४ रन दिएर ४ विकेट लिए । उनले लिगमा १३ विकेट लिइसकेका छन् । त्यसैगरी शहाब आलमले १० रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै सोमपाल कामी र करिम जनतले १–१ विकेट लिए । जवाफमा टाइगर्सले ७.५ ओभरमा १ विकेटको नोक्सानीमा जित निकाल्यो ।
मोहम्मद शहजादले २६ बलमा ४८ रन बनाए । त्यस्तै हसिम अन्सारीले २० बलमा १४ तथा करिम जनतले १ बलमा नटआउट हुँदै चौका हाने ।
जितसँगै चितवन फाइनलमा पुगेको छ । चितवनले दोस्रो क्वालिफायरको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
पराजित पोखराले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
प्लेअफमा पुगेका तेस्रो र चौथो टिम भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स–११ ले बुधबार दिउँसो १ः३० बजे इलिमिनेटर खेल्नेछन् ।
यो खेलको विजेताले बिहीबार पहिलो क्वालिफायरको पराजित टिम पोखरासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
ईपीएलको विजेताले ५० लाख पाउने छ ।