arrow

सकिँदै आईपीएलको लिग चरणः कोलकाताको प्लेअफ लगभग पक्का, मुम्बईका अगाडि पहाड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
ipl-kolkatta-20211.jpg

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा प्लेअफमा लगभग स्थान पक्का गरेको छ । यूएईको शारजाहमा बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै कोलकाताले प्लेअफमा स्थान लगभग पक्का गरेको हो । 

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सको अंकगणितीय हिसाबले प्लेअफ सम्भावना बाँकी रहेकाले कोलकाता लगभगमा पुगेको हो । यद्यपि मुम्बईले अन्तिम खेलमा निकै नै फराकिलो अन्तरको जित निकाले मात्र रन रेटमा कोलकाता पछि पर्ने देखिन्छ । जुन सम्भव भन्दा असम्भव बढी देखिन्छ । 

कोलकाताको खेल
कोलकाताले दिएको १७२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले निकै नै कमजोर खेल्दै १६.१ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । त्यस बाहेक शिवम दुबेले १८ रन बनाएका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाएनन् । 

चार खेलाडीले रनको खाता पनि खोल्न सकेनन् । राजस्थानलाई कम योगफलमा रोक्नका लागि शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो । शुबमन गिलले ५६, भेन्काटेस ऐयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए ।

राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।

चेन्नई पनि हार्यो 
चेन्नई सुपर किंग्सले पनि हार बेहोरेको छ । यो हारले चेन्नई शीर्ष स्थानमा रहेर लिग सकाउन असफल भयो । चेन्नईलाई पंजाब किंग्सले ६ विकेटले हरायो । 

चेन्नईले ६ विकेटको नोक्सानीमा १३४ रन बनायो । जवाफमा पंजाबले १३ ओभरमै ४ विकेटको नोक्सानीमा जित निकाल्यो । 

यो जितले पनि पंजाबले प्लेअफमा स्थान बनाउन सकेन । 

अंक तालिका 
यो खेलसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमै छ । एक खेल खेल्न बाँकी छँदै उसले २० अंकसहित शीर्ष स्थान पक्का गरिसकेको छ । दोस्रो स्थानको चेन्नईले सबै खेल खेलेर १८ अंक जोडेको छ । 

अन्तिम खेल खेल्नुअघि रोयल च्यालेन्जर्स बैंगलोरको १६ अंक छ । 

कोलकाताले सबै खेल खेल्दा १४ अंक जोडेको छ । 

पंवाबले सबै खेल खेलेर १२ अंक बनाउँदै पाँचौं स्थानमा छ । ऊ प्रतियोगिताबाट बाहिरिएको छ । 

छैटौं स्थानको मुम्बईले अन्तिम खेल खेल्नुअघि १२ अंकसहित छैटौं स्थानमा छ । राजस्थानले सबै खेल खेल्दा १० अंक जोडेर सातौं स्थानमा रहेर लिग सकाएको छ । 

६ अंकको सनराइजर्स हैदराबाद पुछारमा छ । 

लिगका अन्तिम खेल
प्लेअफ समीकरण शुक्रबार पूरा हुँदैछ । लिग चरणका सबै खेल शुक्रबार सकिने छन् । अन्तिम दुई खेलमा मुम्बई र हैदराबाद तथा दिल्ली र बैंगलोर भिड्दै छन् । 

दुवै खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछन् । यो खेल अबुधाबीमा हुँदैछ । मुम्बईले यो लिगकै सबैभन्दा कमजोर हैदराबादमाथि अप्रत्याशित फराकिलो जित निकाल्ने हो भने प्लेअफमा स्थान बनाउन सक्नेछ । त्यसको विकल्प छैन । 

त्यस्तै बैंगलोरले पनि फराकिलो जित निकाल्ने हो भने दोस्रो स्थानमा पुग्न सक्नेछ । यो खेल दुबईमा हुनेछ । 



नयाँ