arrow

काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Kasthamandap.jpg
फाइल तस्विर।

काठमाडौं। ऐतिहासिक काष्ठमण्डपको पुनः निर्माण दसैँअघि पूरा नहुने भएको छ । यही दसैँअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो । सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ ।

दसैँ र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनः निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । “केही अवरोध नआए ढुक्कसँग दसैँ तिहारको बीचमा काम सम्पन्न हुन्छ”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानोमा झिँगटी लगाउने काम भइरहेको छ ।”

उनका अनुसार दसैँ सुरु भएकाले केही कामदार घर जान्छन् यसअघि भएजस्तो सबै काम नियमित हुन सक्दैन तिहारअघि भने काम सम्पन्न गर्ने योजना छ । विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्ण रूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनः निर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।

पुनः निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।

उक्त सम्पदा पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ