- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि मुम्बई रन रेटमा कोलकाता नाइट राइडर्ससँग पछि पर्दै बाहिरिएको हो ।
मुम्बईले दिएको कीर्तिमानी २३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरबादले ८ विकेटको नोक्सानीमा १९३ रन बनाउन सक्यो । हैदराबादका कप्तान मनिष पाण्डेले ४१ बलमा नटआउट रहँदै ६९ रन बनाएपछि फराकिलो जित निकाल्न नसकेको मुम्बई बाहिरिन पुगेको हो ।
मुम्बईका जस्प्रित बुम्राह, नाथन कल्टर र जेम्स निशमले २–२ विकेट लिए ।
मुम्बईको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले यो सिजनकै सबैभन्दा फराकिलो योगफल बनाउने क्रममा ९ विकेटको नोक्सानीमा २३५ रन जोडेको थियो । मुम्बईका इशान किशनले ३२ बलमा ८४ रन बनाउँदा सूर्यकुमार यादवले ४० बलमा ८२ रन जोडे ।
हैदरबादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले २–२ विकेट लिए ।
दिल्ली–बैंगलोर
जारी लिगको अन्तिम लिग चरणको खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्लीलाई रोयल च्यालेन्जर्स बैंगलोरले ७ विकेटले पराजित गरेको हो ।
दिल्लीले ५ विकेटको नोक्सानीमा १६४ रन बनायो । पृथ्वी शाले ४८ तथा शिखर धवनले ४३ रन बनाए । जवाफमा बैंगलोरले श्रीकर भारतको नटआउट ७८ तथा ग्लेन म्याक्सवेलको नटआउट ५१ रनको मद्धतले २० ओभर खेलेर ३ विकेटको नोक्सानीमा जित निकाल्यो ।
यो जितले पनि बैंगलोरको स्थान परिवर्तन भएन ।
समीकरण
यस जितसँगै मुम्बईले १४ खेलमा १४ अंक जोड्यो । तर कोलकातासँग नेट रन रेटमा पछि पर्यो । कोलकाता १४ अंकबाटै प्ले अफमा पुग्यो ।
योसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । कोलकाता प्लेअफमा पुगेको छ । दिल्ली २० अंकबाट शीर्ष स्थानमै रह्यो । चेन्नई १८ अंकबाट दोस्रो तथा रनरेटमा पछि पर्दै बैंगलोर तेस्रो स्थानमा रह्यो । कोलकाता चौथो भयो ।
अबका खेल
पहिलो क्वालिफायरमा आइतबार दिल्ली र चेन्नई खेल्दैछन् । यो खेल दुबईमा बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।
इलिमिनेटर खेलमा सोमबार ७ः४५ बजे शारजाहमा बैंगलोर कोलकाता खेल्नेछन् ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टिमसँग खेल्न पाउने छ ।
फाइनल खेल बुधबार (१३ अक्टाबेर) मा हुनेछ ।