arrow

कोहली फेरि फ्लप, बैंगलोर बाहिरियो, शाहरुखको कोलकाता क्वालिफायरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
ipl-bangalore-kolkata-kohli.JPG

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गर्न असफल भएको छ । 

यूएईको शारजाहमा सोमबार राति भएको एलिमिनेटर खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै बैंगलोर बाहिरिएको हो । एक पटक पनि आईपीएल जित्न नसकेको कोहलीको नेतृत्वमा बैंगलोरले खेलेको यो सम्भवतः अन्तिम खेल थियो । 

कोहलीले अब भारत (विश्वकपपछि) र आईपीएलका लागिसमेत टी–२० को कप्तानी नगर्ने बताइसकेका छन् । यो आईपीएलमा कोहलीले खासै उल्लेखनीय रन बटुल्न समेत सकेनन् । 

बैंगलोर कोलकाता खेल
बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको छ । बैंगलोरले दिएको १३९ रनको मध्यम विजयी लक्ष्य कोलकाताले १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो ।

कोलकाताका लागि सुबमन गिलले २९, सुनिल नाराइनले २६, भेन्कटेस एयरले २६, नितिश रानाले २३ तथा 
दिनेश कार्तिकले १० रन बनाए । बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले ७ विकेटको नोक्सानीमा १३८ रन जोडेको थियो । कोहलीले सर्वाधिक ३९ रन जोडे । अलराउन्डर एवं प्लेयर अफ द म्याच सुनिल नाराइनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

अबको समीकरण
जितसँगै बलिउडका बादशाह शाहरुख खानको कोलकाताले फाइनल प्रवेशको ढोका खोलेको छ । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्ली पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न पाएको हो । 

यो खेल बुधबार हुनेछ । खेल बुधबार बेलुकी ७ः४५ बजे शारजाहमा हुनेछ । 

यो आईपीएलको फाइनल खेल आगामी शुक्रबार दुबईमा चेन्नई र दोस्रो क्वालिफायरको विजेतासँग हुनेछ । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स पाँचौं भएर लिग चरणबाटै बाहिरियो भने रनर अप दिल्ली बाँकी नै छ । 



नयाँ