arrow

दक्षिण एसियामै पहिलो चाउचाउ भित्र्याउने फणीन्द्रमान रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
phadindra-shrestha.jpg

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको काठमाडौँको शिक्षण अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ६:२० बजे निधन भएको हो । उनी वि.सं. १९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दूराडाँडाको पुरानकोट फोस्रेगाउँ दुरा डाँडा (हाल बेसिसहरू नगरपालिका-४) जन्मिएका थिए ।

श्रेष्ठ पोउवासंघको हाल मानार्थ सदस्य हुन् । उनी २०४७ देखि २०४९ सालसम्म सङ्घको अध्यक्ष भएका थिए । त्यसअघि उनी २०३३ सालमा सङ्घको कार्यसमिति सदस्य हुँदै २०४१ देखि २०४७ सम्मको कार्यकालमा उपाध्यक्ष बनेका थिए । सेवा निवृत्त बेलायती सेना भए पनि उनको औद्योगिकीकरणमा विशेष रुचि र सोख थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्ष रहँदा उनले सङ्घको गरिमा उकास्न तथा निजी क्षेत्रको हक-हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

सङ्घको सचिवालय सुदृढीकरण, औद्योगिक सूचना केन्द्रको स्थापना एवं अन्तर्राष्ट्रिय साझेदारी अभियान पनि उनकै कालखण्डमा सुरुआत भएको सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए । उनले दक्षिण एसियामै पहिलो पटक चाउचाउ भित्र्याएका थिए । जसको कम्पनी पोखरामै स्थापना गरिएको थियो । 

श्रेष्ठ गण्डकी ब्रिक फ्याक्ट्रीका साथै शक्ति ग्याँस कम्पनी, पोखरा म्याकरोनी प्रडक्ट प्रालि, त्रिशक्ति सोप एन्ड केमिकल कम्पनीमार्फत निलगिरी साबुनका उत्पादक हुन् । उनले पछिल्लो पटक अनुपम फुड्स प्रालि र नेपाल स्न्याक्स प्रालि स्थापना गरेर उत्पादन गर्दै आएका थिए ।

यसैबिच, श्रेष्ठको निधनप्रति पोखरा उद्योग वाणिज्य सङ्घले दुःख व्यक्त गरेको छ । सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेले शोक विज्ञप्ति प्रकाशित गरि उनीप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ