arrow

धोनीले चौथो पटक जिताए चेन्नईलाई आईपीएलको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
ipl-2021-champion.JPG

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । यूएईको दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई चौथो पटक च्याम्पियन भएको हो । 

चेन्नईले दिएको १९३ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले ९ विकेटको नोक्सानीमा १६५ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि शुबमन गिल र भेन्कटेश ऐयरले ९१ रनको साझेदारी गर्ने क्रममा अर्धशतक बनाएका थिए । 

गिलले ४३ बलमा ५१ तथा ऐयरले ३२ बलमा ५० रन बनाए । तर त्यसपछिको कुनै पनि ब्याट्सम्यानले रन जोड्न नसकेपछि कोलकाताले हेर्दा हेर्दै घुँडा टेक्यो । 

चेन्नई कप्तान महेन्द्र सिंह धोनीले ऐयर ० मा रहेको बेलामा क्याच छोडे पनि उपाधिको म्याच भने छोडेनन् । चेन्नईका सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २–२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १–१ विकेट लिए ।

चेन्नई इनिङ्स 
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेटको नोक्सानीमा १९२ रन बनाएको थियो । चेन्नईका फाप डु प्लेसिसले ५९ बलमा ८६ रन बनाए ।

मोइन अलीले २० बलमा नटआउट रहँदै ३७, रुतुराज गायकवाडले २७ बलमा ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३१ रन बनाए । 

कुनै पनि ब्याट्सम्यानले बल खेर फालेनन् । कमजोर बलिङ गरेको कोलकाताका सुनिल नाराइनले २ तथा शिबम माभीले १ विकेट लिए ।

यूएई आईपीएल

योसँगै धोनीले चेन्नईलाई चौथो पटक आईपीएलको उपाधि दिलाएका छन् । धोनीको यो अन्तिम कप्तानी हुन सक्ने अनुमान गरिएको छ । 

कोलकाता भने तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको भए पनि त्यो सपना आफ्नै टिमका बलर रब्याट्सम्यानले मिलेर फ्लप पारेका छन् ।  

आईपीएलको यो संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स प्लेअफमा पुग्नुअघि नै बाहिरियो भने शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको दिल्ली क्यापिटल्सले दुवै क्वालिफायर्समा हार बेहोर्यो । 

विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ खेले पनि इलिमिनेटरमा कोलकातासँग पराजय बेहोर्यो । 

प्लेसिस प्लेयर अफ द फाइनल भए भने हर्षल पटेल प्लेयर अफ द सिरिज भए । 



नयाँ