arrow

आईपीएलको चौधौं संस्करणमा कसले कति रकम पाए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
dhoni-ipl-2021.JPG

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । यूएईको दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई चौथो पटक च्याम्पियन भएको हो । 

च्याम्पियन भएसँगै चेन्नईले २० करोड भारु जितेको छ । उपविजेता बनेको कोलकाताले साढे १२ करोड भारु जितेको छ । 

नवौं पटक फाइनलमा पुगेर चौथो पटक उपाधि जित्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सको उपाधिसँग बराबरी गरेको चेन्नईले ट्रफीसँगै २० करोड जितेको हो । 

त्यतिमात्र हैन फाइनल खेलका म्यान अफ म्याचले पाँच लाख जितेका छन् । उनी हुन् चेन्नईका फाफ डु प्लेसिस । 

सबैभन्दा बढी विकेट लिन सफल रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेलले पर्पल क्यापसहित १० लाख भारु जितेका छन् । 

उनले पर्पल क्यापसँगै गेम चेन्जर अफ द सिजन र मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजनको उपाधि पनि जितेका छन् । यी सबै पुरस्कारको रकम १० लाख भारु हो । 

सबैभन्दा बढी रन बनाउने चेन्नईका ओपनर रुतुराज गायकवाडले अरेन्ज क्याप जिते । उनले पनि १० लाख पाए । उनले १६ खेलमा ६३५ रन बनाएका थिए । प्लेसिसले ६३३ रन बनाएका थिए । 

प्लेसिसले मोस्ट भ्यालुएबल एसेट अफ द म्याचको अवार्ड पनि जिते । फाइनलमा ५९ बलमा ८६ रन बनाएपछि यो अवार्ड पाएका प्लेसिसले १ लाख छुट्टै पाए । फाइनलमा रविन्द्र जडेजालाई पर्फेक्ट क्याच अफ द म्याच बापत १ लाख दिइयो । 

यी हुन् १० लाख पाउने थप खेलाडीहरु–
लोकेश राहुललाई लेट्स क्रयाक इट सिक्स अफ द सिजनको अवार्ड दिइयो । १० लाख भारु जितेका उनले ३० छक्का हानेका थिए । 

रवि विश्नोईलाई फरफेक्ट क्याच अफ द सिजनको अवार्ड दिइयो । कोलकाताका उनले कोलकाताका सुनिल नाराइनको क्याच लिएका थिए । यसबापत उनले १० लाख भारु पाए । 

त्यस्तै वैकटेश अथ्यरले पावर प्लेयर अफ द सिजनको अवार्ड जिते । उनले १० लाख भारु पाए । उनले तीन पटक पावर प्लेयर अवार्ड जितेका थिए । 

सिम्रन हेटमायरले सुपर स्ट्राइकर अफ द सिजनको अवार्ड जिते । उनले पनि १० लाख भारु पाए । उनले १६८.०५ को स्ट्राइक रेटमा २४२ रन बनाएका थिए । 

पर्पल क्याप जितेका हर्षल पटेलले ३२ विकेट लिए । हर्षले थप १० लाख मोस्ट भ्यालुएबल प्लेयरबाट पनि पाएका हुन् । उनले ३२ विकेट लिएर २६४ अंक प्राप्त गरेका थिए । 

त्यस्तै १० लाख जितेका अरेन्ज क्यापधारी रुतुराजले एक शतक र ४ अर्धशतकसहित ६३५ रन बनाएका हुन् । 

प्लेअफमा हार्ने टिमले ८ करोड ७५ लाख भारु पाएका छन् । 

आईपीएलका सबैभन्दा महंगा खेलाडी विराट कोहलीले एक सिजनको १७ करोड भारु पाउँछन् । उनले जम्मा ४०५ रन बनाए । उनको ब्याटबाट एक रन बराबर ४ लाख १९ हजार भारु रहेको थियो । 

यस्तो छ फाइनल खेल
चेन्नईले दिएको १९३ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले ९ विकेटको नोक्सानीमा १६५ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि शुबमन गिल र भेन्कटेश ऐयरले ९१ रनको साझेदारी गर्ने क्रममा अर्धशतक बनाएका थिए । 

गिलले ४३ बलमा ५१ तथा ऐयरले ३२ बलमा ५० रन बनाए । तर त्यसपछिको कुनै पनि ब्याट्सम्यानले रन जोड्न नसकेपछि कोलकाताले हेर्दा हेर्दै घुँडा टेक्यो । 

चेन्नई कप्तान महेन्द्र सिंह धोनीले ऐयर ० मा रहेको बेलामा क्याच छोडे पनि उपाधिको म्याच भने छोडेनन् । चेन्नईका सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २–२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १–१ विकेट लिए ।

चेन्नई इनिङ्स 
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेटको नोक्सानीमा १९२ रन बनाएको थियो । चेन्नईका फाप डु प्लेसिसले ५९ बलमा ८६ रन बनाए ।

मोइन अलीले २० बलमा नटआउट रहँदै ३७, रुतुराज गायकवाडले २७ बलमा ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३१ रन बनाए । 

कुनै पनि ब्याट्सम्यानले बल खेर फालेनन् । कमजोर बलिङ गरेको कोलकाताका सुनिल नाराइनले २ तथा शिबम माभीले १ विकेट लिए ।

यूएई आईपीएल

योसँगै धोनीले चेन्नईलाई चौथो पटक आईपीएलको उपाधि दिलाएका छन् । धोनीको यो अन्तिम कप्तानी हुन सक्ने अनुमान गरिएको छ । 

कोलकाता भने तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको भए पनि त्यो सपना आफ्नै टिमका बलर रब्याट्सम्यानले मिलेर फ्लप पारेका छन् ।  

आईपीएलको यो संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स प्लेअफमा पुग्नुअघि नै बाहिरियो भने शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको दिल्ली क्यापिटल्सले दुवै क्वालिफायर्समा हार बेहोर्यो । 

विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ खेले पनि इलिमिनेटरमा कोलकातासँग पराजय बेहोर्यो । 

सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्सले पाँच पटक, चेन्नई सुपर किङ्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् । 



नयाँ