जोन्सन एन्ड जोन्सन खोपको पनि दोस्रो मात्रा दिने तयारी
काठमाडौँ । कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन(जे एन्ड जे)ले उत्पादन गरेको जान्सेन खाेपको पनि दोस्रो मात्रा लगाउन विज्ञहरूले सुझाव दिएका छन् । कोभिड १९ विरुद्ध एक मात्रै डोज लगाउँदा हुने पहिलो खोपको दोस्रो मात्रा लगाउन अहिले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)का विज्ञहरूले सुझाव दिएका हुन् ।
यस्तै फाइजर खोपको तेस्रो मात्रा १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरूलाई लगाउन समेत एफडीएले सुझाव दिएको छ । एफडीएका विज्ञहरूको टोलीले जान्सेन खोपको एक मात्रा लगाएको कम्तीमा दुई महिनापछि १८ वर्षभन्दा माथिकालाई दोस्रो मात्रा लगाउन सक्ने निष्कर्ष निकालेको हो ।
यद्यपि, एफडीएले यो निर्णयलाई लागु गर्ने पर्छ भन्ने हैन । तर, विज्ञहरूको सुझावलाई कार्यान्वयन गर्न सक्ने सम्भावना बढी हुन्छ । एफडीएले आधिकारीक रूपमा जान्सेनको दोस्रो मात्रा लगाउन अनुमति दिएमा नेपालमा पनि जान्सेन खोप लगाएका करिब १५ लाख नागरिकले पनि दोस्रो मात्रा लगाउन सक्ने छन् ।
जे एन्ड जे र एफडीएका अधिकारीहरूले सुरुमै जान्सेन खोपलाई दुई डोजका रूपमा लगाए हुने भन्ने सम्मको कुरा गरेका छन् । जान्सेन खोपले फाइजर र मोडर्ना भन्दा केही कम एन्टीबडी उत्पादन गरेको देखिएको छ । जो कि फाइजर र मोडर्ना दुई डोजको खोप हो ।
एफडीएले गत महिना ६५ वर्षभन्दा माथिकोले फाइजर खोपको तेस्रो डोज लगाउन सक्ने अनुमति दिएको थियो । इजरायल, जर्मनी लगायतका विभिन्न देशले बुस्टर डोजका रूपमा तेस्रो डोज खोप लगाइरहेका छन् । योसँगै अब जान्सेन खोपको समेत दोस्रो डोज लगाउन पर्ने निष्कर्षमा अमेरिकी विज्ञहरू पुगेका छन् ।