arrow

१८ वर्षमाथिका ३२.६ प्रतिशत नागरिकले लगाए कोभिड विरुद्धको पूर्णखोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
vaccination.jpg

काठमाडौँ। सरकारले १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। सो अनुसार मङ्गलवार (आज) सम्म ३९.४ प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन्, भने २९.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन्।

यस अन्तर्गत १८ वर्षमाथिका मात्रै १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई खोप लगाउने लक्ष्य सरकारको छ। हालसम्म १८ वर्षमाथिका ४३ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा र ३२.६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १८ वर्षमाथिका ३३ प्रतिशत नागरिकलाई खोप लगाउने बताएका थिए। लगभग लक्षित जनसङ्ख्याले खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मङ्गलवार अर्थात् आजसम्म कोभिड विरुद्धको १ करोड ५० लाख ४८ हजार २ सय ८८ डोज खोप लगाइसकिएको छ। जसमध्ये ८५ लाख ६२ हजार ३ सय ६५ जनाले एक मात्रा र ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण खोप लगाइसकेका छन्।

नेपालमा भेरोसेल, जे एन्ड जे, कोभिसिल्ड, जापानमा उत्पादित र स्विडेनमा उत्पादित एस्ट्राजेनेका खोप लगाइएको छ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ रहेको छ।



नयाँ