शकिब प्रेरित खेलमा जित्यो बंगलादेश, अर्को चरणमा छानिने आशा
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
882
Shares
काठमाडौं । बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको अर्को चरणमा छानिने आशा जिवितै राखेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएपछि पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको बंगलादेशले दोस्रो खेलमा ओमानलाई पराजित गरेसँगै मुख्य स्पर्धामा पुग्ने सम्भावना बलियो बनाएको हो ।
ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको ओमानले ९ विकेटको नोक्सानीमा १२७ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । ओमानलाई रोक्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै अलराउण्डर एवं प्लेयर अफ द म्याच शकिब अल हसनले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १५३ रन बनाएको थियो । मोहमद नाइमले ५० बलमा ६४ रन बनाए । त्यस्तै शकिबले २९ बलमा ४२ रन जोडे । ओमानका बिलाल खान र फायज बटले ३–३ तथा कालिमउल्लाहले २ विकेट लिए ।
अंक तालिका
पहिलो चरणको समूह बी को खेलमा अन्तिम चरणको खेल हुनुअघिको दुई चरणको खेलबाट स्कटल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश र ओमानको समान २–२ अंक छ । बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो भने ओमानले पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई हराएको थियो ।
पीएनजी लगातार दुई हारसहित पुछारमा छ । यो हारले पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ ।
आठ टिमलाई २ समूहमा विभाजन गरी खेलाइएको छ । हरेक समूहका शीर्ष दुई टिम अर्को चरणमा पुग्नेछन् र मुख्य स्पर्धा शुरु हुनेछ ।