- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि मुस्मिल धर्माबलम्बीहरुले गरेको आक्रमणको विरोध हुने क्रम जारी छ । उक्त हिंसात्मक आक्रमणमा परी ६ जनाको ज्यान गइसकेको छ ।
उक्त आक्रमणको विरोधमा इस्कोन नेपाल केन्द्रीय कार्य समितिले शान्तिपूर्ण भेला गर्ने भएको छ । समितिले बंगलादेशमा भएको साम्प्रदायिक हिंसा तथा अल्पसंख्यक माथिको आक्रमणको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्न राजधानीको बसुन्धारामा रहेको बंगलादेश दूतावास अगाडि भेला हुन आग्रह समेत गरेको छ ।
बुधबार दिउँसो २ः३० बजे शान्तिपूर्ण विरोध भेला गर्दै राजदूतलाई ज्ञापनपत्रसमेत हस्तान्तरण गरिने समितिले जनाएको छ । समितिले उक्त भेलामा कुनै पनि किसिमको हिंस्रक प्रस्तुति नगर्नसमेत अनुरोध गरेको छ ।
बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तीमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ । कम्तीमा १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ । त्यहाँका मूर्तिहरु तोडफोड भएको छ ।
राजधानी ढाकामा सयौं मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् । सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दू मन्दिरको तल राखिएको तस्बिर भाइरल भएलगत्तै दङ्गा भड्किएको थियो ।
बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन् ।
त्यसैगरी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले हिंसा फैलाउनेलाई कडा कारबाही गर्ने बताएकी छिन् । उक्त घोषणासँगै केही मुस्लिम समुदायले हसिना भारतसँग झुकेको आरोपसमेत लगाएका छन् ।