प्रधानमन्त्री साहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
183
Shares
काठमाडौँ । निजी क्षेत्रका शीर्ष नेतृत्वसँग छलफलपछि प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, तिनको दीर्घकालीन समाधान, निर्माण व्यवसायीहरूले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारका तर्फबाट गरिनुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीहरूसँग विशेष छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने लगायतको सहभागिता रहनेछ।
प्रधानमन्त्री साहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार आजको बैठक मुख्य रूपमा सरकार र निर्माण व्यवसायीबीचको आपसी सहकार्यलाई थप प्रभावकारी र नतिजामुखी बनाउने विषयमा केन्द्रित रहनेछ।
विगत लामो समयदेखि निर्माण व्यवसायीहरूले उठाउँदै आएका खरिद सम्झौताको म्याद थप, भुक्तानीको समस्या र सार्वजनिक खरिद नियमावलीका जटिलता जस्ता राष्ट्रिय सरोकारका विषयमा समेत सकारात्मक निकास निकाल्ने अपेक्षा गरिएको छ।