arrow

नेपालमा कोरोना सङ्क्रमण दर ७ प्रतिशतमा झर्याे

logo
प्रकाश चन्द्र जोशी,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
corona update.jpg

काठमाडौँ । पछिल्लो एक साताको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ७ प्रतिशतमा झरेको छ। पछिल्लो एक साता अर्थात् असोज २७ देखि कार्तिक २ गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा हाल कोभिड-१९को सङ्क्रमण दर ७।२१ प्रतिशत देखिएको हो।

पछिल्लो एक सातामा ४५ हजार ९ सय ८३ जनाको नमुना परीक्षण गरिएको छ । ती मध्ये ३ हजार ३ सय १७ जनामा कोरोना भाइरस अर्थात् कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ। यसरी हेर्दा एक सातामा औसतमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ७.२१ प्रतिशत देखिएको हो।

असोजको सुरुमा (भदौ २६ देखि असोज १ गतेसम्म) कोरोना भाइरसको सङ्क्रमण दर १०.१६ प्रतिशत रहेको थियो। झन्डै एक महिनापछि उक्त सङ्क्रमण दर घटेर ७.२१ प्रतिशत पुगेको हो। पछिल्लो एक सातामा ५ हजार ६ सय ५६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस्तै यसै समयावधिमा ४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।

हाल नेपालमा कोभिड-१९को सङ्क्रमण दर घट्दो छ । यद्यपि, दसैँ र तिहारका लागि देशका विभिन्न ठाउँमा मानिसहरूको आवतजावत बढेको छ । यस कारण अब फेरि सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वैशाखदेखि जेठ अन्तिमसम्ममा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च रहेको थियो । वैशाख २९ गते नेपालमा सङ्क्रमण दर ४५ प्रतिशत भन्दा बढी थियो ।

नेपालमा हाल लक्षित जनसङ्ख्याको २९.८ प्रतिशतले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएका छन् भने, ३९.४ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । 



नयाँ