- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । श्रीलंका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा पुग्न सफल भएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा भइरहेको विश्वकपमा लगातार दोस्रो जितसहित श्रीलंका मुख्य स्पर्धामा प्रवेश गरेको हो ।
यूएईको अबुधाबीमा बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंका सुपर १२ मा पुगेको हो । श्रीलंका सन् १९९६ को विश्वकप विजेता हो ।
श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८.३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो ।
आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए ।
कर्टिस क्याम्फरले २४ रन जोडे । अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिए । लाहिरु कुमारा र चामिका करुनारत्नेले २–२ विकेट लिए ।
श्रीलंकाको इनिङ्स
यसअघि पहिले ब्याटिङ श्रीलंकाले ७ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो ।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बल खेले । प्लेयर अफ द म्याच उनले १ विकेटसमेत लिएका थिए ।
यस्तै ओपनर पाथुम निशान्काले ६१ रन बनाए । उनले पनि ४७ बल खेलेका थिए । कप्तान डसुन शनकाले नटआउट रहँदै २१ रन बनाए ।
आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । मार्क एडियरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए ।
समूह चरण समीकरण
समूह ए मा चार टिम छन् । शीर्ष दुई टिम सुपर १२ मा पुग्छन् । जसमा श्रीलंकाले सुपर १२ स्थान पक्का गरेको छ । श्रीलंकाले २ खेलमा ४ अंक जोडेको छ ।
श्रीलंका समूहको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराएको थियो ।
आयरल्याण्ड २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायम छ । आयरल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले नै हराएको थियो ।
नामिबिया २ अंकबाट तेस्रो स्थानमा छ । नामिबियाले रेकर्ड जित राख्दै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हरायो ।
लगातार दुई हारसँगै नेदरल्यान्ड्स सुपर १२ मा पुग्ने सम्भावनाबाट बाहिरिएको छ ।