- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आरामदायी प्रदर्शन गरेको छ । विश्वकपको असली भिडन्तको वार्मअप जस्तै खेलेको पहिलो चरणको खेलमा शतप्रतिशत नतिजासहित श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ ।
शारजाहमा शुक्रबार राति नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो । नेदरल्याण्ड्सले दिएको ४५ रनको झिनो विजयी लक्ष्य श्रीलंकाले ७.१ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो ।
श्रीलंकाको जितमा कुशल परेराले नटआउट रहँदै ३३ रन बनाए । नेदरल्याण्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १–१ विकेट लिए ।
नेदरल्याण्ड्सको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो । यो नै जारी विश्वकपको सबैभन्दा कमजोर योगफल थियो ।
नेदरल्याण्ड्सका कोलिन एकार्मानले मात्र दोहोरो स्कोर खडा गरे । उनले ११ रन बनाए । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले ३–३ विकेट लिए । महेश थिकसानाले २ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।
समीकरण
यो जितसँगै शतप्रतिशत नतिजासहित ६ अंकबाट समूह विजेता बन्दै श्रीलंका सुपर १२ मा पुग्यो । नामिबियाले ४ अंकसहित समूहको उपविजेता भएर सुपर १२ मा स्थान बनाएको हो ।
आयरल्याण्ड २ अंकमा रहेर बाहिरियो । अंकविहीन नेदरल्याण्ड्स पुछारमा रहेर बाहिरियो ।
सुपर १२ समीकरण पनि पूरा
८ टोलीले २ समूहमा रहेर खेलेको पहिलो चरणबाट ४ टिम सुपर १२ मा पुगेका छन् ।
समूह ए बाट श्रीलंका र नामिबिया तथा समूह बीबाट स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा पुगेका हुन् ।
शनिबारदेखि सुपर १२ का खेलहरु हुनेछन् ।