arrow

हिन्दु स्वयंसेवक सङ्घले आयोजना गरेको प्राथमिक शिक्षा वर्ग सम्पन्न

हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : अध्यक्ष गुप्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
Hindu-volunteer organization-rss-nepal.jpg

पर्सा। हिन्दु स्वयंसेवक सङ्घ नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको ७ दिने प्राथमिक शिक्षा वर्ग समापन गरिएको छ। वीरगन्जको घण्टाघरस्थित बिपी उद्यान पार्कमा आयोजित समापन समारोहमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।

विश्वको एक मात्र हिन्दु धर्म नै हो, जसले कसैलाई क्षति पुर्‍याउँदैन तर हिन्दुलाई कसैले क्षति पुर्‍याउन खोज्छ भने, आत्म संरक्षण गर्न पूर्व तयारी गर्नुपर्ने उनले बताए। विश्वकै पहिलो हिन्दु धर्मलाई पश्चिमी मुलुकहरूले अङ्गीकार गरिरहेका छन्, यो हिन्दुत्वको लागि गर्व हो। तर हाम्रो देशमा केही व्यक्तिहरू डलरमा आफ्नो धर्म बेच्ने काम गरिरहेका छन्। यो देशको लागि शुभ सङ्केत होइन। हिन्दुत्वको संरक्षण हुन आवश्यक छ। हिन्दु स्वयंसेवक सङ्घले हिन्दुत्व संरक्षणको लागि चालेको कदम सह्रानीय रहेको बताउँदै उनले यसको लागि वीरगन्ज उद्योग वाणिज्य सङ्घले मात्र नभई यहाँका निजी क्षेत्रले समेत सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

अध्यक्ष गुप्ताले हिन्दुत्वलाई कसरी अगाडी बढाउन र हिन्दु समाजलाई कसरी जोड्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्न पनि हिन्दु स्वयंसेवक सङ्घ मार्फत उद्योग वाणिज्य सङ्घ तयारी रहेको बताए। यो प्रशिक्षणले सहभागीहरूको मनोबल बढाएको छ। उनले हिन्दुत्वको लागि काम गर्ने ऊर्जा पनि प्रदान गरेको बताउँदै आउने दिनमा यो भन्दा दोब्बर सङ्ख्यामा प्रशिक्षण गर्न सुझाव समेत दिए।

कार्यक्रममा हिन्दु स्वयंसेवक सङ्घका राष्ट्रिय प्रचार प्रमुख डाक्टर दीपक अधिकारीले हिन्दु स्वयंसेवक सङ्घले कुनै दलको लागि राजनीति नगरेको स्पष्ट पारे। हिन्दु स्वयंसेवक सङ्घको काम धार्मिक हुनसक्छ, उनले भने, ‘कुनै पनि राष्ट्र र समाजको कार्य भनेको अत्यन्तै पवित्र र उदारता कार्य हो। जसले राष्ट्र र समाजको लागि पवित्र कार्य गर्छ त्यो सङ्गठन धार्मिक हुन्छ।’

हिन्दु स्वयंसेवक सङ्घले देशभक्ति कार्य सिकाउँछ। श्वको जागरण नै देशभक्ति हो। अर्कालाई गाली गरेर राष्ट्रभक्ति देशभक्ति हुँदैन। विदेशीले दिएको डलरले देशभक्ति खडा गर्न सक्दैन, उनले भने, ‘देशमा देशभक्ति खडा गर्न समाजको सद्भावले सङ्गठन चलाउनु त्यो सङ्गठन नै दीर्घकालीन चल्छ।’

समाजलाई सङ्गठित गर्ने काम हिन्दु स्वयंसेवक सङ्घले गर्दछ। समर्थ राष्ट्र बनाउन हिन्दुहरूले सङ्गठित समाज निर्माण गर्नै पर्छ। उनले भने, ‘जसरी शरीर भित्र आत्म हुन्छ र त्यसरी नै राष्ट्रको आत्मा नै हाम्रो संस्कृति नै हो। आत्मा विना न शरीर हुन्छ न त राष्ट्र नै।’ हाम्रो देशको संस्कृति नै हिन्दुत्व हो। नेपाल प्राचीन काल देखि नै हिन्दु राष्ट्र हो। यसलाई जोगाउन सम्पूर्ण हिन्दु समाज सङ्गठित हुन जरुरी छ।

एक साता सञ्चालित प्राथमिक शिक्षा वर्गका सहभागी शिक्षार्थीहरूले समारोहमा आ—आफ्नो प्रतिभा समेत प्रदर्शन गरेका थिए। वर्गका वर्ग अधिकारी सत्रुधन गिरीको अध्यक्षतामा सम्पन्न समारोहमा जिल्ला सङ्घ चालक ललन द्धिवेदी, जनकपुर सम्भाग प्रचारक लक्ष्मण गिरी लगायत हिन्दु स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

यसअघि स्वयंसेवक सङ्घले वीरगन्जमा भव्य रूपमा पथ सञ्चालन समेत गरेको थियो। पूर्ण गणवेश, हातमा दण्ड र घोष पथ सञ्चालन निकालिएको थियो। बिपी उद्यान पार्कबाट निकालिएको पथ सञ्चालन मेनरोड हुँदै ओम आश्रम, रानीघाट, घडिअर्वा, कैलाश चोक, आर्दशनगर, माईस्थान, घण्टाघर हुँदै पार्कमा पुगी समारोहमा परिणत भएको थियो।

चोक चोकमा स्थानीय उत्साहित हिन्दु समाज स्वयंसेवकहरूमाथि पुष्पवर्षा गरेर पथ सञ्चालनलाई भव्य रूपमा स्वागत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ