arrow

जुवाडेः प्रहरी तानिए, प्रजिअलाई चलाइएन 

सर्लाहीका जुवाडे एसपी राठौर हेडक्वार्टर तानिए, पठाइए प्रसाई

धनुषामा आरोपितको मिसिल कमजोर बनाउने रानाभाट हटाइए, रजौरे पठाइए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
sp-krishna-prasai-sp-basant.jpg
तस्वीर–एसपीद्वय कृष्ण प्रसाई (बायाँ) र वसन्त रजौरे (दायाँ) ।

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीको काज सरुवा गरेको छ । प्रधान कार्यालयले जुवा खेल्दै गरेको भिडियो सार्वजनिक भएका सर्लाहीमा कार्यरत एसपी सन्तोषसिंह राठौरको काज सरुवा गर्दै उनलाई प्रहरी प्रधान कार्यालय तानेको हो । 

राठौरको स्थानमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई जिम्मेवारी दिइएको छ । सर्लाहीमा रहेका एसपी राठौरले जुवा खेल्दै गरेको भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । 

यसैगरी प्रहरी प्रधान कार्यालयले लागू औषध मुद्धामा आरोपीहरुको मिसिल कमजोर गरेको आरोपमा धनुषाका एसपी प्रकाश रानाभाटको पनि काज सरुवा गर्दै प्रधान कार्यालय तानेको छ। 

उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई जिम्मेवारी दिइएको छ । एसपी रानाभाटले लागूऔषध मुद्धामा गत फागुनमा पक्राउ परेका आरोपीहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो । 

यस विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको जनाएपछि त्यसको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । मिसिल कमजोर बनाएको आरोप लागेका रानाभाटको नेतृत्वको प्रहरीले सरकारी कर्मचारीलाई कालोमोसो लगाएर शहर परिक्रमा गराउँदा पनि समयमै उचित कारबाही गर्न नसकेको भन्दै उनलाई हटाउन दबाब परेको थियो ।

जुवाडे एसपी राठौरलाई प्रहरी प्रधान कार्यालयले कारबाही स्वरुप हेडक्वार्टर ताने पनि जुवाको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी महतोलाई भने गृह मन्त्रालयले कुनै कारबाही गरेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ