arrow

यातायात क्षेत्रका समस्या समाधानका लागि सशक्त आन्दोलन आवश्यक : खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
yatatat pokhara.jpg

पोखरा । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका अध्यक्ष डोलराज खनाल यातायात क्षेत्रमा बग्रेल्ती समस्या रहेकाले ती समस्या समाधानका लागि सशक्त आन्दोलन आवश्यक भएको बताएका छन् ।

यातायात व्यवसायीलाई राज्यले सधैँ हेप्ने र पेल्ने काम मात्रै गरेको भन्दै उनले यातायात व्यवसायीलाई गैह्र नागरिकको रूपमा व्यवहार गर्ने राज्य विरुद्ध सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । 

पोखरामा गण्डकी ट्याक्सी यातायात पब्लिक लिमिटेडको तेस्रो साधारण सभा उद्घाटन गर्दै अध्यक्ष खनालले भाडा समायोजन नभए आन्दोलन गर्नसमेत निर्देशन दिए । 

आन्दोलनकै बलमा व्यवसायीका समस्या समाधान हुन सक्ने भएकाले सशक्त आन्दोलनमा होमिन आग्रह गर्दै उनले यसमा महासङ्घको पूर्ण साथ रहने बताए । 

देशभरका आम व्यवसायीले एउटै महासङ्घ बनाएर अघि बढ्न र व्यवसायीका समस्यामा जुध्न सुझाव दिइरहे पनि महासङ्घहरूमा स्वार्थीहरूले नेतृत्व गरिरहेका कारण समस्या भएको उनले स्पष्ट पारे । 

महासङ्घ नै एकता गर्न नसके पनि व्यवसायी र मजदुरका मुद्दामा कार्यगत एकता भने गरेर अघि बढ्न सकिने अध्यक्ष खनालले बताए । आफू नेतृत्वको महासङ्घले व्यवसायी र मजदुरका समस्यालाई नै मुख्य मुद्दा बनाएर अघि बढिरहेको उनले जानकारी दिए । 

महासङ्घका वरिष्ठ सदस्य केशव अधिकारीले कम्तीमा पनि वर्ग मिल्ने व्यवसायी संस्थाहरूबिच एकता आवश्यक भएको बताए ।

उनले राज्यको नीति बैङ्क तथा वित्तीय संस्थाहरूले नमानेका कारण समस्या आउने गरेको भन्दै यसका लागि पनि महासङ्घले पहल गर्न आवश्यक भएको बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले देशको कूल राजस्वको १७ प्रतिशत हिस्सा यातायात व्यवसायीले ओगटेको भन्दै राज्यले सधैँ दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने गरेको, व्यवसायी हत्यारा र लुटेरा हुनु भनेर बुझ्ने गरेकोमा दुखेसो गरे ।

उनले यातायात क्षेत्रमा लागेका व्यवसायीले अन्य पेशा अँगाल्न नसक्ने भएकाले यो पेसालाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । 

यातायात क्षेत्रमा विशेष गरि ट्याक्सी व्यवसायी अपहेलित भएको भन्दै पेट्रोलको मूल्य ७७ रुपैयाँ हुँदा पनि त्यही भाडा र अहिले १३० रुपैयाँ हुँदा पनि त्यही भाडामा यात्रु बोक्नुपर्ने अवस्था रहेको बताए । अब पनि भाडा समायोजनमा राज्यले ध्यान नदिने हो भने सशक्त आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य शिव बस्ताकोटीले अझै पनि ट्राफिक प्रहरीलाई ट्याक्सी भनेपछि साह्रै रिस उठ्ने र ट्याक्सी चालक ट्राफिक प्रहरी देख्ने बित्तिकै भाग्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताए ।

पार्किङ व्यवस्थापन र राज्यलाई कर तिर्नु यातायात व्यवसायीको दायित्व भएको भन्दै दायित्व पूरा गर्न तर अन्याय सहेर नबस्न आग्रह गरे ।

नेपाल यातायात राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले कोभिडका कारण यातायात क्षेत्र तहसनहस भएको बताए । उनले यातायात व्यवसायी राज्यको सबैभन्दा शक्तिशाली भए पनि पछिल्लो समयमा निरीह बन्दै गएकोप्रति दुखेसो पोखे । महासङ्घहरूबिच कम्तीमा पनि कार्यगत एकता गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव पाठकले हरेक दुःखमा ट्याक्सी आवश्यक हुने भन्दै ट्याक्सी चालक अन्य व्यक्ति नभएर नागरिकको सेवक भएको बताए । 

संस्थाका अध्यक्ष गन्धीराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकीका अध्यक्ष विष्णु खत्री, अखिल नेपाल यातायात मजदुर सङ्घ कास्कीका अध्यक्ष अग्नीधर खनाल, संस्थाका प्रबन्धक आत्माराम श्रेष्ठ र सचिव अर्जुन पौडेलले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ