arrow

गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिवि आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री देउवालाई लेखकको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
gokuleshwor-campus-deuba-le.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा नेता लेखकको नेतृत्वमा गोकुकेश्वर क्याम्पसका ब्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सो माग राखेका हुन् । 

भेटका क्रममा नेता लेखकले सुदूरपश्चिमको दुर्गम क्षेत्र बैतडीमा सामुदायिक रुपमा स्थापित पहिलो कृषि क्याम्पस गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन सके त्यस क्षेत्रका गरिब र विपन्न छात्र छात्राहरुले सहज रुपमा प्राविधिक शिक्षा पढ्न पाउने भएकाले आंगिक क्याम्पस निर्माणको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले वर्तमान सरकारको दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा रहेकाले गोकुकेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन कुनै कसर बाँकी नराख्ने  प्रतिवद्धता जनाए । 

लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस बैतडीका पूर्व सभापति शिवराज भट्ट, क्याम्पस प्रमुख परमानन्द जोशी, क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष नवराज पाण्डे, नेविसंघका पूर्व केन्द्रीय सदस्य जनक भट्ट, नेपाली कांग्रेस डिलासैनी गाउँपालिका सभापति जयानन्द जोशी, स्ववियू सभापति राजेन्द्र बम, सेठीगाउँ क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीलगायतको सहभागीता रहेको थियो ।

२०६७ सालमासम्बन्धन प्राप्त गरेको गोकुलेश्वर कृषि क्याम्पसको समुद्घाटन २०६९ सालमा  देउवाले नै गरेका थिए । हाल क्याम्पसमा १७१ जना विद्यार्थी अध्ययनरत छन् ।

भेटकै क्रममा गोकुलेश्वरमा नै रहेको सेठीगाउँ क्याम्पसलाई पनि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रतिनिधिमण्डलले माग गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ