- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोहलपुर । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नम्बर ८ कार्यसमितिको आयोजनामा सोमबार विजयादशमी, दीपावली, छठ पर्व तथा मोहम्मद डेको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरूले पार्टीको आसन्न १४औँ महाधिवेशनका सन्दर्भमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए । त्यस क्रममा बक्ताहरूले क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति माधवराम खत्रीले विधि विधान र पद्धति नमान्दा तोकिएको समयमा अधिवेशन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै आक्रोश पोखेका थिए ।
बक्ताहरूले कुनै अमुक व्यक्तिको दम्भ र अहङ्कारले गर्दा पार्टीलाई बन्धक बनाउन नहुने बताए । वडा, पालिका र प्रदेश समितिले विधानसम्मत ढङ्गले सिफारिस गरेका क्रियाशील सदस्यताको नामावली इन्ट्री गर्ने क्रममा क्षेत्रीय सभापतिले मनोमानी ढङ्गले नामावली थप्ने र हटाउने गरेका कारण क्रियाशील सदस्यता वितरणमा विवाद सृजना भएको बक्ताहरूले बोल्ने क्रममा बताए । व्यक्तिगत स्वार्थमा सङ्गठनलाई दुरुपयोग गर्नु गलत भएको पनि उनीहरूले बताए।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी सभापति किरण कोइरालाले पदीय दायित्वमा रहेका व्यक्तिहरूले विधि विधान र पद्धति अनुसार पार्टी सञ्चालन गर्न नसक्ने हो भने पार्टी सही दिशामा अगाडि बढ्न नसक्ने बताइन् । उनले तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा जिल्ला सचिव तप्त पौडेलले पनि पार्टीको आगामी अधिवेशनमा पार्टीलाई विधान विपरीत व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने व्यक्तिलाई ठेगान लगाउनुपर्ने बताए । महासमिति सदस्य द्वय नारायण गौडेल र हुर्मत न्यौपानेले विभिन्न समयमा भएका आम निर्वाचनमा आफूहरूले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सधैँ अन्तर्घात गर्ने तर पदीय जिम्मेवारीको दुरुपयोग गर्दै पार्टीका इमानदार कार्यकर्ताहरूलाई कारबाहीको सिफारिस गरेर तेजोबोध गर्न खोजेको आरोप लगाए । उनीहरूले क्रियाशील सदस्यता वितरणमा सम्पूर्ण अधिकार वडा समितिलाई रहेको बताउँदै वडा, पालिका र प्रदेशले विधानसम्मत ढङ्गले सिफारिस गरेका क्रियाशील सदस्यतालाई काँटछाँट गर्ने अधिकार क्षेत्रीय सभापतिलाई छैन, भने ।
नेपाली काँग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसीले नेपाली काँग्रेसले राणा, पञ्चायत र राजाको तानासाहलाई अन्त्य गरेको बताउँदै पार्टीमा कसैको तानासाह र अधिनायकवाद नचल्ने र पार्टीभित्रका त्यस्ता अधिनायकवादीहरूलाई आगामी अधिवेशनमा कार्यकर्ताहरूले तह लगाउने बताए ।
उनले क्षेत्रीय सभापति माधवराम खत्रीले फेरि तेस्रो कार्यकालका लागि निर्वाचन लड्ने घोषणा गरेकाले आफूले चुनाव हार्ने परिस्थिति भएको हुँदा कुनै पनि हालतमा निर्वाचन जित्नका लागि हरेक हत्कण्डा अपनाउन खोजेको तर क्षेत्रीय सभापतिका विधि विधान विपरीतका यस्ता प्रकारका कुनै पनि हत्कण्डा सफल नहुने बताए । युवा नेता केसीले क्षेत्रीय सभापतिकै दम्भ, अंहकार र बाल हठले सोमवारसम्म बाँकेको अधिवेशन हुन नसकेको आरोप लगाए ।
वडा नम्बर ८ का पार्टी सभापति बेल बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व क्षेत्रीय सभापति नारायण सिग्देल, क्षेत्रीय सचिव डिल्ली गिरी, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्ल, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण कार्की, जिल्ला सदस्यहरू चिन्तामणि धिताल, नमः बहादुर आले, गौरा भट्टराई, विराट खानेपानी समितिका अध्यक्ष खुम बहादुर खत्री, क्षेत्रीय प्रतिनिधि लाल बहादुर राणा लगायतले बोलेका थिए ।
कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान गरेका वरिष्ठ नागरिकहरू हिमलाल उपाध्याय, रमेश कुमार गौतम, गोपाल अहिर लगायत ५० जना वरिष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा ७१ जनाले रक्तदान पनि गरेका थिए ।