arrow

स्याङ्जाका सिडिओको चासो राजमार्ग संरक्षणमा

प्रशासनको समन्वयमा राजमार्ग संरक्षण 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
raju-prasad-poudel.JPG

स्याङ्जा । जिल्ला प्रशासन कार्यालयको पहलमा सिद्धार्थ राजमार्ग संरक्षणमा स्याङ्जावासी जुट्ने भएको छ । बर्षाद र बेमौसमी बर्षादका कारण सडकमा क्षति भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यो अभियानको थालनी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले समन्वय गरी राष्ट्रिय राजमार्ग बचाउमा सबै जुट्न अभियानको सुरुवात गरेका हुन् । स्याङ्जा जिल्ला भित्र करिब ८० किलोमिटर रहेको सिद्धार्थ राजमार्ग संरक्षण गर्नुपर्ने देखेपछि प्रजिअले यो अभियान चलाउन लागेका हुन् ।

सडक डिभिजन कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्लाका ११ वटै पालिका र जिल्ला स्थित विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा भएको बैठकले कार्त्तिक १७ गते राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । 

राजमार्गले छोएका पालिकाहरूले आ-आफ्ना क्षेत्र भित्र पर्ने राजमार्गलाई सरसफाइ देखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित हुने निर्णय भएको छ । देशकै पुरानो र तराई पहाड जोड्ने सिद्धार्थ राजमार्ग संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । राजमार्गबाट शाखा सडक खोल्दा आवतजावतमा समेत सवारी साधनलाई समस्या हुँदै आएको छ । अर्को तर्फ दुर्घटना पनि हुँदै आएका छन् । 

यसलाई मध्य नजर गरेर प्रजिअ पौडेलले राजमार्ग संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले सबै स्याङ्जावासी र पालिकाहरूलाई आग्रह गरेका छन् । सोमवार बसेको जिल्ला स्थित समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेका छन् । कार्त्तिक १७ गते कास्कीको सिमाना कुभिण्डे देखि लुम्बिनी प्रदेशको सिमाना राम्दी सम्म यात्रु र सवारी साधनलाई आवागमनमा सहज बनाउन मर्मत सम्भार र खाल्डाखुल्डी पुर्ने भएको छ । शाखा सडकहरूको पनि सफाइ र मर्मत गरिने गरी निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले जानकारी दिए । 

बैठकले प्रशासन, मालपोत र अन्य कार्यालयहरूमा गरिने सिफारिसमा आवश्यक कागजात प्रमाणहरू संलग्न नहुँदा सेवाग्राहीमा देखिएको कठिनाइ प्रति ध्यान दिन निर्णय गरिएको छ । आवश्यक सुझाव र सिफारिसमा कागजात पुर्‍याएर सेवाग्राहीको सेवामा समस्या आउन नदिने निर्णय भएको सहायक प्रजिअ शर्माले बताए । बजार अनुगमनलाई निरन्तरता दिँदै जिल्लामा अभियानका रूपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रलाई आ-आफ्नै पालिकाबाट बाट सञ्चालन गर्ने निर्णय भएको छ । 

प्रजिअ पौडेलले जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी जनताको सेवामा खटिनुपर्ने दायित्व भएकाले नागरिकमैत्री बनेर सेवा प्रवाहमा लाग्न सुझाव दिए । प्रजिअको जिम्मेवारी लिएर आएसँगै पौडेलले पहिलो प्राथमिकतामा सिद्धार्थ राजमार्गमा यात्रा सहज रूपले हुनुपर्ने तर्फ ध्यानाकर्षण गरेका थिए । उनकै पहलमा बर्सैदेखि अलपत्र र निर्माण हुन नसकेर असहज यात्रा गर्न बाध्य रहेको राजमार्गलाई सहज बनाउने काम गरेका थिए । 

यसको निरन्तरताका लागि उनले समन्वय बैठकबाट पनि राजमार्ग संरक्षण अभियानलाई प्राथमिकतामा राखेका हुन् । यो प्रयासको स्याङ्जावासी नागरिकले खुलेर प्रशंसा समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ