arrow

आगामी चुनावमा अरु दलसँग तालमेल नगर्ने पक्षमा कांग्रेस भित्र बलियो मत 

गगन थापा भन्छन : आफ्नै ताकतले भिड्ने हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
nepali-congress-flag-tree.jpg

काठमाडौं। पाँच दलीय सत्ता गठवन्धनको नेतृत्व गर्दै आएको प्रमुख दल नेपाली कांग्रेस भित्र आगामी चुनावमा अन्य दलसँग तालमेल गर्ने विषयमा नेताहरु पिच्छे फरक फरक मत देखिएको छ।

कांग्रेस भित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनको परिणामपछिको अवस्थालाई हेर्दै तालमेल गर्ने भन्दा नगर्ने मत बलियो बन्दै गएको छ।

कांग्रेसले २०७४ मा सम्पन्न स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरि आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेसी नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिन्हमा मतदान गर्न बाध्य भएका थिए।

कतिपय स्थानमा केन्द्रमा तालमेल भए पनि तल्ला तहमा तालमेल गरिएका अन्य दलका नेता कार्यकर्ताहरु नै कांग्रेसका उम्मेदवारलाई हराउन अघि सरेका थिए।

‘त्यसबेला केन्द्रबाट तलमेल भयो, तल्ला तहमा कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरु नै पराजित बने, अब त्यस्तो तालमेलको अर्थ छैन,’कांग्रेसका एक नेताले भने।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार जनकपुरमा आयोजित नेताकार्यकर्तासँगको भेटमा आगामी निर्वाचनमा कुनै दलसँग कांग्रेसले तालमेल गर्ने अवस्था नहुने बताएका थिए।

यसैगरी आइतबार नै एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले निर्वाचनमा देशभर नभइ केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताएका थिए। उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन्।

‘चुनावी तालमेलका विषयमा पार्टी भित्र एक मत छैन, फरक फरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावन त नहोला, केही स्थानमा हुन सक्छ,’सहमहामन्त्री महतले भनेका थिए।

यसैगरी कांग्रेस युवा नेता गगन थापालेसमेत केही दिनअघि धादिङ र चितवनमा आयोजित कार्यक्रममा कांग्रेस कोहीसँग तालमेल गरेर नभइ एक्लै आफ्नै ताकतले निर्वाचनमा होमिने बताएका थिए।

उनले आगामी निर्वाचनमा ‘कुन निर्वाचन चिन्हमा मत हाल्ने ? भनेर अलमलिन पर्ने अवस्था आउन नदिने भन्दै आफ्नै दलको चिन्हमा मतदाताले मतदान गर्न पाउँने बताएका थिए।

हाल कांग्रेससहित, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र जनमोर्चाले केन्द्रीय सत्ता सहयात्रामा गठवन्धन गर्दै आइरहेका छन्। यी दलहरुबीच नै आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल हुन सक्ने गठवन्धन आबद्ध अन्य दलका नेताहरुको दाबी छ।



नयाँ