arrow

मनाइयो नरक चतुर्दशी

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
swastani.jpeg

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ ।

 स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ ।
  
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकीदेवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदैछ ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिनपर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । 

बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ । यसवर्ष कात्तिक १६ गते मङ्गलबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन बुधबार काग र कुकुर तिहार पर्व मनाइएको थियो । यो नेपालीको बडा दसैँपछि दोस्रो ठूलो चाड हो ।



नयाँ