- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसले १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ।
काँग्रेसले प्रदेश २ का आठ जिल्लासहित १३ जिल्लामा २७ कार्तिकका लागि वडा अधिवेशन तोकेको थियो। ती १३ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेको हो।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले समितिले १३ जिल्लामा वडा अधिवेशन गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृत खटाएको र आजै साँझसम्म सबै जिल्लामा निर्वाचन अधिकृत पुगेर काम सुरु गर्ने उनले जानकारी दिए।
यादवका अनुसार पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रप्रसाद अधिकारी, रौतहटमा दीपकराज गिरी, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, धनुषामा अरुण ज्ञवाली, सप्तरीमा डा. रुद्र शर्मा र सिराहामा सञ्जीव लामालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
यसै गरी कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको समितिले जनाएको छ। क्रियाशील सदस्यता विवादका कारण यसअघि ६४ जिल्लामा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ।
काँग्रेसले बाँकी जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर अन्य तहका अधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो। जसअनुसार सातै प्रदेशमा प्रदेश अधिवेशन १६ र १७ मङ्सिरका लागि तय छ। वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा पालिका अधिवेशन ३० कार्तिकका लागि तय गरिएको छ भने ती सबै जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन ३ मङ्सिरमा हुनेछ।
यसै गरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरका लागि तय गरिएको छ।
यसै गरी सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन २७ कार्तिकमा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १ मङ्सिरमा हुनेछ। यस्तै जुम्लामा जिल्ला अधिवेशन १ मङ्सिरमा नै हुनेछ।
यसै गरी पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, लमजुङ, कास्की, तनहुँ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम, सल्यान, जाजरकोट, डोटी, दैलेख, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरमा गरी ४६ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन ३ मङ्सिरमा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरमा तय गरिएको छ।