arrow

कांग्रेस १४औं महाधिवेशन : पुराना गुट भत्कने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस गत १८ भदौबाट नै महाधिवेशन होमिसकेको छ। ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ। १३ जिल्लामा २७ कार्तिकमा वडा अधिवेशन हुँदैछ।

अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरू मैदानमा उत्रिँदै छन्। केही हिमाली जिल्लाहरुको नेतृत्वसमेत चयन भइसकेका छन्।

स्थानीय तह हुँदै चयन भएर केन्द्रसम्मको चुनावमा उठ्नका लागि तल्ला तहदेखि नै नेताकार्यकर्ताहरुले सक्रियता बढाइरहेका छन्। कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरसम्मका लागि तय गरिसकेको छ।

केन्द्रमा फेरी पनि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले सभापति दोहोर्याउने चाहना राख्दै आइरहेका छन् । उनी गत १३औं महाधिवेशनमा पनि सभापति निर्वाचित भएका थिए। उनले यसपटक पनि सभापतिमा जसरी पनि निर्वाचित बन्ने गरी आफू निकटका नेताकार्यकर्तालाई सन्देशसहित फिल्डमा खटाएका छन्।

१३औं महाधिवेशन पछि कांग्रेसमा स्थापित तीन गुट छ। पहिलो गुटको नेतृत्व पार्टी देउवाले नै गरिरहेका छन्। उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ।

अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन्। उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका थिए।

कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । १३औं महाधिवेशनमा सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए। त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनले देउवालाई सघाएर त्यसयता तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन्।

तर १३औं महाधिवेशन भएको पाँच वर्ष पुरा भएर १४औं महाधिवेशनमा होमिदैं गर्दा भने कांग्रेस भित्र पुराना गुटको समीकरण फेरबदल हुने संकेतहरु देखा पर्न थालेका छन्। पुराना गुटमा स्थापित रहेका केही शीर्ष नेताहरु गुट भत्काएर आफैं उम्मेदवार बन्ने तयारीमासमेत छन्।

हाल संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले संस्थापनबाट देउवा विरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा ६ महिना अघि नै गरिसकेका हुन्।

यस्तै संस्थापनबाटै नेता गोपालमान श्रेष्ठले पनि सभापतिका लागि आकांक्षा देखाएका छन् । यसैगरी संस्थापन इतर मानिएको पौडेल समूहबाटसमेत धेरै नेता सभापतिको आकांक्षी छन्।

पौडेल आफैं पनि सो गुटबाट आकांक्षी हुन्। सोही समूहबाट हालका महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसीसमेत सभापतिका आकाक्षी हुन्। यो समूहबाटै नेतृ सुजाता कोइरालाले पनि सभापतिमा दाबी राख्दै आइरहेकी छन्।

नेता केसीले यस पटक गुट भित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सकिने अवस्था आए आफू ब्याक हुने संकेत पनि गर्दै आएका छन्।

तर पूर्व महामन्त्री सिंहले भने देउवा र पौडेलबाट पार्टी नचल्ने भन्दै सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन्। यसको अर्थ सिंह पौडेलका विरुद्ध पनि विद्रोह गर्न तयार रहेको देखिन्छ।

यस्तै कोइराला परिवार भित्रैबाट शशांक, शेखर र सुजाता उम्मेदवार बन्ने अवस्था बढ्दै छ। यस्तै अवस्था रहीरहे वर्तमान इतर समूह पनि विभाजित हुने देखिन्छ।

यसैगरी कांग्रेस भित्रको अर्को गुट सिटौला समूह हो। सिटौला आफैँ पनि आगामी महाधिवेशनका लागि टिम नै घोषणा गर्ने तयारीमा छन्। उनले यसअघि सीमित व्यक्तिलाई राखेर टिम बनाएको भए पनि यसपटक टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन्।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङलेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।



नयाँ