arrow

न्यायिक लडाई जारी राख्न राजधानीमा अनसन, देउवासँग अधिवेशन खारेजीको माग गरिने 

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
congress-ddl.JPG

डडेलधुरा । एकपक्षीय रूपमा गरिएको स्थानीय अधिवेशनहरू खारेजीको माग सहित क्रियाशील सदस्यता विवाद समाधानका लागि आन्दोलित नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षले स्थगित गरिएको रिले अनसनलाई थप सङ्घर्षको रूपमा सङ्घीय राजधानी काठमाडौंमा मङ्सिर १ गतेबाट धर्ना बस्ने तयारी गरेको छ । 

पार्टीको आगामी स्थानीय अधिवेशन बारे छलफल गर्न बसेको आन्तरिक सर्वपक्षीय भेलाले एक पटक केन्द्रीय सभापतिलाई भेट्ने र सच्याएर पुनः वैधानिक अधिवेशन गर्न आग्रह गर्ने तथा त्यति हुँदा पनि बेवास्ता गरिए वा क्रियाशील सदस्यता सम्बन्धी कृत्रिम विवादलाई केन्द्रीय समितिले नसच्याए कडा आन्दोलनमा जाने निर्णय समेत गरेको छ । 

जिल्ला कार्य समितिको ६३औँ तथा विशेष बैठकबाट सातौँ जिल्ला अधिवेशनका लागि स्थानीय तहबाट प्रमाणित र सिफारिस गरिएको प्रक्रिया लत्त्याइ सूचिकृत नभएका क्रियाशील सदस्यहरू चोर बाटोबाट थपेको र नियमित सदस्यहरू हटाई व्यापक हेरफेर गरिएको प्रति आपत्ति जनाएको छ । अवैध प्रक्रिया अपनाई गरिएको कथित स्थानीय अधिवेशनहरू खारेजीको माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले जानकारी दिएका छन् । 

डडेल्धुराबासीको नेपाली काँग्रेस प्रतिको आस्था, लगानी र राजनीतिक पुँजी माथि खेलबाड गरेको भन्दै पार्टी भाँडेर स्वार्थ लिने समूहको मात्र नेता बन्न खोजेकामा अन्याय अत्याचारका विरुद्ध लड्ने प्रजातान्त्रिक पार्टीका सिपाहीहरूबाट अनसन मार्फत पीडित क्रियाशील सदस्यहरूलाई न्याय दिलाउन सफल हुनेमा विश्वस्त रहेको सभापति मल्लले बताएका छन् ।

वडा अधिवेशन पूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरी माथि ५४ दिन सम्म पनि कुनै सुनुवाइ नगरिएको र उल्टै बाँकी रहेका अधिवेशनहरू सम्पन्न गर्न सभापति देउवा नै उद्धत रहेकोले समयमै सच्याउन आग्रह गरिएको छ । वैधानिक रूपले सर्वसम्मत स्थानीय अधिवेशनहरू नभए मङ्सिर १ गते देखि धर्ना सहित चरणबद्ध कडा आन्दोलनका कार्यक्रम तय गरिने समेत बैठकले निर्णय गरेको छ । 

आन्दोलनमा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू, ५२ वडा सभापति, स्थानीय तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत इच्छुक नेपाली काँग्रेस क्रियाशील सदस्यहरूको सहभागिता रहने गरि आवश्यकता अनुसार अनिश्चित कालिन अनसनबाट न्याय खोज्न सङ्घीय राजधानी काठमाडौं पुग्ने बताएका छन् । 

जिल्लाले पठाएका क्रियाशील सदस्यहरू ५८०४ मध्ये ४६० विना कारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षीय रूपमा नयाँ थप गरिए पछि भाद्र २५ गते गरिएको एकलौटी वडा अधिवेशन प्रति असहमति राख्दै प्रक्रियाको प्रमाण सहित ९२ पानाको अवैधानिक अधिवेशन कागजातहरू जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्य समितिलाई भाद्र ३१ नै बुझाई सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ