- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डडेल्धुरा । एकलौटी र अवैध रुपमा गरिएको वडा र पालिका स्तरीय अधिवेशन बदर गराउन माग राख्दै नेपाली कांग्रेस डडेल्धुराले राजधानी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ ।
क्रियाशील सदस्यता पुनरावलोकन गरेर मात्रै नयाँ किसिसले सबैको सहभागितामा वडा र पालिका स्तरीय अधिवेशन पुनः गराउन राजधानी काठमाडौंमा धर्ना र अनसन बस्ने निर्णय गरिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको ६३औं तथा बिशेष बैठकबाट अबैध प्रकृया अपनाई गरिएको कथित स्थानीय अधिबेशनहरु खारेजीको मागराख्दै राजधानी केन्द्रीत आन्दोलनमा जाने निर्णय गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले जानकारी दिए ।
केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यता वितरणका क्रममा भएको धाँधलीका बारेमा जानकारी गराउँदै न्यायका लागि अनुरोध गरिएको भए पनि कुनै सुनवाई नभएकाले आन्दोलनमा जानुपर्ने बाध्यता आइलागेको उनले बताए ।
सातौं जिल्ला अधिबेशनका लागि स्थानीय तहबाट प्रमाणित र सिफारिस गरिएका क्रियाशील सदस्यहरुको हकमा प्रकृया लत्याई सूचिकृत नभएका क्रियाशील सदस्यहरु थपेको र नियमित प्रकृया पुर्याएका सदस्यहरु हटाई व्यापक हेरफेर गरिएको प्रति आपत्ति जनाउँदै नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले सदस्यता विवादको अन्त्य नभएसम्म अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो ।
तर, जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी र सदस्यहरुको सहभागिता बिना व्यापक मात्रामा प्रहरी परिचालन गरेर वडा र पालिकास्तरीय अधिवेशन एकपक्षीय रुपमा सम्पन्न गरिसकेको छ ।
डडेल्धुराबासीको नेपाली कांग्रेसप्रतिको आस्था, लगानी र राजनीतिक पूँजीमाथी खेलवाड गरिएको नेपाली काँग्रेस डडेल्धुराका उप सभापति करुणाकर भट्टले बताए । पार्टी भाँडेर स्वार्थ लिने समूहको मात्र नेता बन्न खोजेकोमा अन्याय अत्याचारका बिरुद्ध लडने प्रजातान्त्रिक पार्टीका सिपाहीहरुबाट अनसनमार्फत पिडीत क्रियाशील सदस्यहरुलाई न्याय दिलाउन सफल हुनेमा आफु विश्वस्त रहेको सभापति मल्लले बताए ।
वडा अधिबेशन पूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिईएको निवेदन तथा उजुरी माथी ५४ दिन सम्मपनि कुनै सुनुवाई नगरिएको र उल्टै बाँकी रहेका अधिबेशनहरु सम्पन्न गर्न सभापति देउवा उद्दत रहेकोले समयमै सच्याउन आग्रह गर्दै बैधानिक रुपले सर्वसम्मत स्थानीय अधिबशनहरु नभए सम्मका लागि धर्नासहित चरणबद्ध कडा आन्दोलनका कार्यक्रम तय गरिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।
आगामी मंसिर १ गते सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने र २ गतेदेखि अनिश्चितकालिन अनशन शुरु गरिने कार्यक्रम तय भएको सभापति मल्लले जानकारी दिए ।
नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले सिफारिस गरेर पठाएका क्रियासिल सदस्यहरु पाँच हजार आठ सय चारमध्ये चार सय ६० जनाको नाम विना कारण हटाईएको र समायोजन भएका एकसयसहित चार सय १२ क्रियासिल सदस्यता केन्द्रबाट थप गरिएपछि कांग्रेस डडेल्धुराले सदस्यता पुनरावलोकन गर्न मागगर्दै आएको छ ।
यसअघि डडेल्धुराको पार्टी कार्यालय किशुनजी भवनमा निरन्तर ११ दिनसम्म अनसन बसेका जिल्लास्तरीय नेताहरुको माग सम्बोधन गर्न पार्टीमा छलफल गर्ने आश्वासनसहित कांग्रेस नेताहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरेले डडेल्धुरा पुगेर अनसन तोडन लगाएका थिए । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाकै निर्देशनमा क्रियाशील सदस्यता हेरफेर गरेर एउटा गुटलाई जिताउने षडयन्त्र गरिएको नेपाली काँग्रेस डडेल्धुराका नेताहरु बताउँछन ।