- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । असन्तुष्ट नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाँके कांग्रेसको पार्टी कार्यालय र निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।
क्रियाशील सदस्यता नवीकरणका नाममा फर्जी सदस्यता थपिएको भन्दै असन्तुष्ट पक्षले विहीबार साँझ अधिवेशनको तयारीमा जुटेको निर्वाचन समितिको कार्यालय र पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
संस्थापन पक्षले विधि र प्रक्रिया विपरित नवीकरणका नाममा २३९ जना सदस्य थपेको पाइएपछि संस्थापनइतर पक्ष तालाबन्दी गरी आन्दोलनमा उत्रिएको कांग्रेस नेता पोषण केसीले जानकारी दिए ।
‘यहाँ सौहार्दपूर्ण रुपमा कार्तिक २७ गतेका लागि वडा अधिवेशनको तयारी भइरहेको थियो । निर्वाचन प्रतिनिधि खटिइसकेको र मतदाता नामावली प्रकाशित भइसकेको थियो । तर संस्थापन पक्षले जबरजस्ती फर्जी सदस्यता पठाएर अधिवेशनलाई विथोल्ने प्रयास गरेपछि तालाबन्दी र घेराबन्दीमा उत्रिनु परेको हो,’ केसीले हाम्राकुरासँग भने ।
निर्वाचन प्रक्रिया शुरु भइसकेपछि संस्थापन पक्ष आफू कमजोर हुने ठानेर फर्जी सदस्यता थपेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । कांग्रेसले १३ जिल्लामा २७ कार्तिकमा वडा अधिवेशन गर्दैछ । ति जिल्लामा केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृत तोकिसकेको छ । बाँकेमा रेवतीरमण भट्टराई निर्वाचन अधिकृतका रुपमा खटिएका छन् ।