arrow
ADVERTISEMENT

रसुवा काँग्रेसमा क्रियाशील सदस्यता विवाद फेरि बल्झियो, छानबिन समितिले नै विवाद बढाएको आरोप

'एमाले वडा कमिटीमा रहेकालाई समेत छानबिन समितिले सदस्यता दियो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
Nepali-Congress-Party-Flag.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसको छानबिन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशील सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ । 

नेपाली काँग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानबिन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको यहाँका काँग्रेस कार्यकर्ताले बताएका छन् । 

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि काँग्रेसका रसुवाका युवा छानबिन समितिप्रति आक्रोशित भएका हुन् । 

नेपाली काँग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष् तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको आरोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमानदार र आस्थावान् कार्यकर्ताको मनोबल गिराउने काम भएको बताए। 

पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको काँग्रेसका युवाले जनाएका छन् । 

तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टुङ्ग्याइएको थियो । 

क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमानदार नेता तथा कार्यकर्ताको मनोबल उकास्न नसकेको भन्दै नेपाली काँग्रेस रसुवाले आपत्ति जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएका कार्यकर्ताको क्रियाशील सदस्यता कटौती गर्ने र विधान विपरीत गैर काँग्रेसलाई जबरजस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिको आलोचना भएको छ । 

क्रियाशील सदस्यताको छानबिन निष्पक्ष रूपमा नभएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ