arrow

उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
pun-bibaran.JPG

काठमाडौं । बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै बिहिवार उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ ।

राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले बिहिवार लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गरेका हुन् । विवरण सङ्कलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुगेका थिए । 

विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरेका थिए । गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गरेका थिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे । 

आयोगका सदस्य फुयाँलले जनगणनामा सहभागिता जनाएर विवरण उपलब्ध गराइदिनुभएकामा उपराष्ट्रपतिमा आभार प्रकट गरेका थिए । उनले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताउनुभएको थियो । सो अवसरमा आयोगका सचिव भण्डारीले जनगणनाको महत्वबारे प्रकाश पारेका थिए।

महानिर्देशकसहितको टोलीले गणककारुपमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्याङ्क सङ्कलन गरेको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’  नाराका साथ बिहिवारदेखि राष्ट्रिय जनगणना, २०७८ प्रारम्भ भएको छ । जनगणना बिहिवारदेखि आगामी मङ्सिर ९ गतेसम्म गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ