कांग्रेस महाधिवेशनका उम्मेदवारसँग सङ्कल्प खोज्दै वडा सभापति
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
607
Shares
झापा। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा देशभरका कांग्रेस कार्यकर्ताहरूलाई भ्याई नभ्याई शुरु भएको छ। महाधिवेशनमा आफूलाई विजयी बनाउन सबै उम्मेदवार लागेका छन्। यस्तै उम्मेदवारहरूसँग सङ्कल्प र जित्ने आधार खोज्दैछन् नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँ।
“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।” नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँसेका छन् ।
उनले अरू इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै जनताको घरदैलोमा पुग्ने नेताहरूलाई भनेका हुन्।
उनले बिहिबारदेखि सूचना मात्र टाँसेका छैनन्, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प लेखिदिनु भनेर डायरी र कलमसमेत राखिदिएका छन्। आफ्नो घरमा आउने नेता तथा उम्मेदवारलाई सधैँ स्वागत गर्ने भन्दै उनले पार्टीको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेबाट उत्तर खोज्ने प्रयास गरेको बताए।
उनी भन्छन्, “उम्मेदवारी घोषणा गर्नु मात्रै ठुलो कुरा होइन, उम्मेदवारले सङ्कल्प गर्नै पर्छ पार्टी र सङ्गठनलाई यस्तो बनाउँछु भनेर ।” उनले पार्टी र जनताको काममा आफू सधैँ निरन्तर खटिरहेको र आफूले पनि त्यस्तै नेताहरू नेतृत्वमा हेर्न चाहेको बताए ।
उनले वर्षौंदेखि पार्टीमा योगदान पुर्याएका मान्छेहरूको अवमूल्यन हुने, पार्टी र सङ्गठन नै नबुझेका नयाँ सदस्य हाबी हुने अवस्था सिर्जना हुन नदिन यो अभियान सुरु गरेको बताए । वडा सभापति बानियाँले भोट माग्न आउने तर डायरीमा उम्मेदवार बन्नुका कारण नखुलाउने नेताहरूलाई आफूले भोट नहाल्ने बताए ।