arrow

कांग्रेसको नयाँ गतिमा योगदान दिन केन्द्रीय सदस्यमा उठ्छु : बजगाईं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
rajendra.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईंले आगामी १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेस भित्र परिवर्तन आवश्यक रहेको भन्दै कांग्रेसलाई नयाँ गति दिने कुरामा योगदान दिन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने उनले बताएका हुन्।

पर्यटन व्यवसायीसमेत रहेका बजगाईंले ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेसलाई अघि बढाउनु पर्ने आवश्यकता रहेकोसमेत भनेका छन्।

यसअघि १३ औं महाधिवेशनमा कुनैपनि समूहमा नपरेका बजगाईंले केन्द्रीय सदस्यमा सम्मानजनक मत ल्याएका थिए।

‘अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय समितिमा जान प्रयास गरें, त्यस बखत कुनै समूहमा नभएर अटाउन सकिन, यसपटक अझ बढी प्रतिवद्धतासहित खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु’, बजगाईंले पत्रकारहरुसँग भने।

कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने उनले भनेका छन्।

उनी नेविसंघको राजनीतिक बाटो हुँदै कांग्रेस राजनीतिमा आएका हुन्। उनी पर्यटन क्षेत्रको व्यवसायिक राजनीतिमा पनि त्यतिकै सक्रिय छन्।

‘राजनीतिसँगै जनताले विकास खोजेका छन्, कांग्रेसले राजनीतिसँगै अब विकासको नारा अघि बढाउनु पर्छ, म त्यसका लागि उम्मेदवारी दिने तयारीमा छु,’उनले भने।

बजगाईं २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी गोरखा १ ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए।
उनीसमेतको भूमिकामा कांग्रेस गोरखामा यसपटक जिल्ला तहको नेतृत्वमा नन्दुप्रसाद न्यौपाने सर्वसम्मत रुपमा चयन भएका थिए।

कांग्रेस पार्टी व्यापक विभेदहरूको अन्त्यका लागि स्थापना भएको र स्थापनामा नै महिला, दलित, सीमान्तकृत, जनजाती आदिमाथि हुने विभेदको अन्त्य गर्ने अठोटसंगै प्रजातन्त्रको मूलमर्म तमाम हक स्थापित गर्ने यात्रा तयार गरिएको उनले  भनेका छन्।

यसरी समानान्तर संघहरूको परिकल्पना गर्दा जात र वर्गलाई प्रतिनिधित्व गर्ने संघहरूबाट यदाकदा पार्टीको शक्तिसन्तुलन खल्बलिने डर हुन थालेको र यसको रोकथाम हुनेगरि पार्टीमा बिभागहरूलाई सबल बनाउनु पर्नेतर्फ पनि अब ध्यान दिनु पर्ने उनले भनेका छन्।

यस्तै नेविसंघ कांग्रेसको नर्सरी भएको, प्रतिबन्धित अवस्थामा वयस्क नभैसकेका कलिला छात्राछात्रहरूलाई मूलक़ानून नलाग्ने हुनाले उनीहरु मार्फ़त प्रजातन्त्रको स्थापनाकालागि प्रचार प्रयोजन बलियो बनेको तर अब त्यसो गरिनु न्यायसंगत नहुँने भन्दै पार्टीले विद्यालयमा राजनीतिको हद तोक्नु पर्नेसमेत उनले भनेका छन्।

यसैगरी परिष्कृत औधोगिक विश्वले श्रम र बुद्धिहरू खपत गरिरहेको, सबैभन्दा उपेक्षित वर्ग युवाहरूलाई देशैभित्र रहने अवसरको प्रत्याभूति गराउनु पर्ने अवस्था रहेको र सोही चुनौतीलाई चिर्नसमेत आफूले नेपाली कांग्रेस केन्द्रीय समितिको यात्रा तय गरेको जनाए।



नयाँ