arrow

कांग्रेसको संस्थापन इतर समूहको बैठक: साझा उम्मेदवार बन्ने सम्भावना टर्दै

पौडेलले भने- 'कि मिल्नुस, कि मलाई छाड्नुस्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
ram-chandra-poudel-nc.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा पार्टीको संस्थापन इतर पक्ष एक हुने सम्भावना टर्दै गएको छ । 

शुक्रवार वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षका नेताहरूलाई महाधिवेशनका विषयमा रणनीति बनाउन भन्दै बोलाएको केन्द्रीय सदस्यहरूको बैठकमा सोही समूहका नेता प्रकाशमान सिंह अनुपस्थित भएपछि यो सम्भावना टर्ने देखिएको हो।

शुक्रवारको बैठकमा नेता पौडेलले इतर पक्षले साझा उम्मेदवारका लागि अन्तिम समयसम्म प्रयास गर्नु पर्ने नभए आफू पनि मैदान नछाड्ने बताए।

‘नेता पौडेलले कि तपाईँहरू मिल्नुस्, मिल्न सक्नु हुन्न भने म मिलाएर अघि बढ्छु मलाई साथ दिनुस् भनेर भन्नु भयो, हामी पनि साझा उम्मेदवार तय हुनु पर्छ भन्नेमा छौँ, नत्र शेरबहादुर देउवालाई नै पार्टी बुझाउँदा हुन्छ,’ कांग्रेस सभापतिका आकाङ्क्षी रहेका हालका महामन्त्री डा. शशांक कोइरालाले बैठकपछि भने।

बैठकमा नेता पौडेलले आफू सभापति बने पार्टीलाई तीन तहको निर्वाचनमा जिताएर पद छाड्ने बताएका थिए।

कांग्रेसको संस्थापन इतर समूहबाट पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाले सभापतिमा उठ्ने चाहना राख्दै आइरहेका छन्।

बैठकमा नेता सिंह र नेतृ कोइराला भने सहभागी भएनन्। उनीहरू दुवै जना पछिल्लो समय नेता पौडेलसँग असन्तुष्ट देखिएका छन्। केही दिनअघि सिंहले देउवा र पौडेलबाट अब कांग्रेस अघि बढ्न नसक्ने अभिव्यक्ति दिएका थिए।



नयाँ