arrow

गुल्मीको सिद्धबाबा माविद्वारा शैक्षिक सामग्री प्रर्दशन 

logo
रमेश विश्वकर्मा 
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
gulmi-students.jpg

गुल्मी । गुल्मी जिल्लाको एक सामुदायिक विद्यालयले शैक्षिक सामग्री प्रदर्शन गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं। ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विश्व विज्ञान दिवसको अवसर पारेर पुरातात्त्विक एवम् विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानसंग सम्बन्धित शैक्षिक सामग्री प्रर्दशन गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले पूर्खाहरुले परम्परागत रुपमा प्रयोग गरेको तथा पछिल्लो समय प्रयोग बिहिन बन्दै गएको ठड्यौरोमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

शैक्षिक सामग्री प्रदर्शन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख मरासिनीले शैक्षिक प्रर्दशनमा विद्यार्थीहरुले प्रयोगात्मक रुपमा सिकेको ज्ञान दिर्घकालसम्म ताजा रहने बताए । त्यस अवसरमा रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा पठनपाठनलाई स्तरीय बनाउन टेवा पुर्याउने बताए ।

विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले व्यवहारमा गरिने प्रयोगले मात्रै सिकाइलाई दिगो बनाउन सकिने बताए । सिद्वान्तमा पढेको कुरालाई विद्यार्थीहरुले व्यहारमा उतारेको बताउँदै प्रधानाध्यापक श्रीसले प्रत्यक्ष रूपमा सिकेको ज्ञान अनन्तकालसम्म रहने उल्लेख गरे । 

त्यस अवसरमा रामकृष्ण पौडेलले विद्यार्थीहरुका लागि जाडोमा प्रयोग हुने २० थान स्वीटर तथा इन्द्र बहादुर बुढाले २० जोड जुत्ता मोजा विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसलाई हस्तान्तरण गरे । यस्तै विजय शर्माले चार हजार बराबरका सामान्य ज्ञान विद्यालयलाई हस्तान्तरण गरे ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख लोकनाथ मरासिनी, रेसुंगा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवाली, वडा सदस्य सीता आचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बहादुर थापको अध्यक्षता एवम् सहायक प्रधानाध्यापक युवराज अर्यालको सन्चालन रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ