arrow

सानेपामा धर्ना : बुढानिलकण्ठमा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
deuba-home-house-pm-niwash-congress.jpg

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी धर्नाका कारण सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरू भएको छ।

१ बजेका लागि डाकिएको बैठक भर्खरै सुरू भएकाे हाे । कांग्रेस पार्टी कार्यालयका एक कर्मचारीका अनुसार सानेपामा बस्ने भन्दै बोलाइएको बैठक क्रियाशिल सदस्यताको विवादलाई लिएर त्यहाँ जारी धर्नाका कारण बुढानिलकण्ठमा सारिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना सुरु भएको आज ११५ दिन भइसकेको छ। क्रियाशिल सदस्यताको विषयमा विवाद भएपछि रौतहटबाट जिल्ला कोषाध्यक्षसहितको टोली सानेपामा धर्ना बस्दै आइरहेको छ। उनीहरु जिल्ला सभापतिले धाँधलीपूणर् रुपमा सदस्यताको सूची केन्द्रमा पठाएको भन्दै धर्नामा बस्दै आएका हुन्।

तर सो विषयलाई समाधान गर्नुको साटो कांग्रेसले बैठक नै बुढानिलकण्ठ सारेको हो।

धर्नाको नेतृत्व गर्दै आइरहेका कांग्रेस रौतहट कोषाध्यक्ष राम साहले विधानसम्मत सदस्यता वितरण नभएसम्म धर्ना नरोकिने बताए। उनले केन्द्रीय नेतृत्वलेसमेत मनोमानी रुपमा सदस्यताको विवरण बुझेको र स्थानीय नेताकार्यकर्ताहरुको आवाजलाई दबाउन खोजेको बताए।

कांग्रेसले भने बैठकमार्फत पार्टीको आगामी २४ देखि २६ मंसिरसम्म हुने १४औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ भने विदेशबाट आएका क्रियाशिल सदस्यतालाई पनि अनुमोदन गर्ने बताइएको छ।

यसैगरी बैठकले महाधिवेशनका लागि विभिन्न उपसमितिहरु पनि गठन गर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

अहिले बुढानिलकण्ठमा नेताहरुबीच छलफल जारी छ । कुन कुन समिति बनाउने र कति सदस्य राख्ने भन्ने विषयमा नेताहहरुबीच छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।



नयाँ