- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि २५ मंसिरमा मतदान गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ।कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन उद्घाटन २४ मंसिरमा, २५ मंसिरमा नेतृत्व चयनका लागि मतदान र २६ मंसिरमा गणना गर्ने गरी अघि बढ्ने विषयमा प्रारम्भिक सहमति भएको छ।
केन्द्रीय सदस्य मीन विश्वकर्माले २१ मंसिरमा निर्वाचन प्रक्रिया शुरु गर्ने गरी निर्वाचन समितिबाट प्रस्ताव आएको र सोही दिन नै केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दर्ता गरिने तयारी भएको जानकारी दिए ।
‘समय कम छ, निर्वाचन समितिले २१ मंसिरमा उम्मेदवारी दर्ता गर्ने गरी तयारी गरेको छ, त्यसपछिका पनि विभिन्न प्रक्रियाहरु छन्, महाधिवेशन उद्घाटन २४ गते गर्ने र २५ मंसिरमा मतदान र २६ मंसिरमा गणना गर्ने गरी तयारी भएको छ,’ विश्वकर्माले भने।
कांग्रेस महाधिवेशनमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले केन्द्रीय नेतृत्व छान्न ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि आउनेछन्। सो संख्यामा प्रत्येक निर्वाचन क्षेत्रबाट थप एक जना अपांगता तथा अल्पसंख्यक क्षेत्रबाट पनि प्रतिनिधित्व गर्ने छन्।
यस्तै भ्रातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि चयन भएर आउनेछन्। यी सबै क्षेत्रबाट गरी करिब ४५ सयको हाराहारीमा कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि चयन भएर आउनेछन्।