तेस्रोलिङ्गी समूदाय अन्तर्गतका वालवालिकाहरुमा दुर्व्यवहारका घट्ना बढ्दै गएको गुनासो
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
1.2k
Shares
काठमाडौं । यौनिक लैङ्गिक अल्पसंख्यक समूदाय(समलिङ्गी/तेस्रोलिङ्गी) अन्तर्गतका वालवालिकाहरुमाथि दुर्व्यवहारका घट्नाहरु बढ्दै गएको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
ति वालवालिकाहरुको अधिकार सुरक्षित गराउन परिवार, विद्यालय र समाजमा चेतनाका कार्यक्रमहरु बढाउनुपर्ने उनीहरुको भनाइ छ ।
सेभ द चिल्ड्रेन्टको सहयोगमा ब्लू डाइमन्ड सोसाइटीले आयोजना गरेको अन्तरक्रियामा सोसाइटीका कार्यक्रम निर्देशक संजय शर्माले दुब्र्यवहार भोगिरहेका बालबालिकाहरुको बारेमा समूदायमा थाहा नहुने र परिवारले नबुझ्ने गरेकाले देशब्यापी जनचेतना आवश्यक भएको बताए ।
‘उमेर बढ्दै गएपछि वालवालिकाहरुमा अरु भन्दा आफू किन भिन्न छु, अरुले मलाई किन गिज्याइरहेका छन् जस्ता प्रश्नहरु उब्जिने तर उनीहरुलाई गाइडलाइन गरिदिने कोही नहुँदा मानसिक समस्या बढ्ने गरेको छ । यसका लागि विद्यालयमा सोही अनुसारको मार्गदर्शन र राज्यले नीति तथा कार्यक्रममा सम्बोधन गरिनुपर्छ,’ उनले भने ।
उमेर बढ्दै जाँदा शारीरिक रुपमा देखिएको परिवर्तनले वालवालिकाहरुमा मानसिक समस्या देखिने र एक्लोपना महशुस हुने भएकाले यस्तोबेला भरपर्दो गाइडलाइन आवश्यक पर्ने कार्यक्रमका वक्ताहरुले धारणा राखे । कार्यक्रम आदित्य राईले संयोजन गरेका हुन् ।
कार्यक्रममा ब्लु डाइमन्ड सोसाइटीले दैलेखको गुराँस गाउँपालिका र काठमाडौमा वालवालिका केन्द्रीत कार्यक्रम संचालन गरिरहेको जानकारी पनि दिइयो । सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको मुद्दामा सबै तह र तप्काका ब्यक्तिहरुले आवाज उठाउनुपर्ने, राज्यको नीति तथा कार्यक्रम र योजनाहरुमा समूदायका मुद्दाहरु समावेश हुनुपर्ने र समलिङ्गी तथा तेस्रोलिङ्गी समूदायका व्यक्तिहरुलाई उचित अवसर दिनुपर्ने माग उठाउँदै आएको छ ।