arrow

किन रोकियो शशांक र शेखरको संयुक्त पत्रकार सम्मेलन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
sasanka sekhar.jpg

काठमाडौं। कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइराला आगामी १४औं महाधिवेशनमा मिल्लान् कि नमिल्लान् चासोको विषय छ । यी दुई नेतालाई मिलाउन पटक पटक नेतृ सुजाता कोइरालाको मण्डिखाटार निवासमा ‘लन्च मिटिङ्ग’ पनि हुँदै आइरहेकै छ। महाधिवेशनको मिति नजिकिंदै जाँदा अब कोइराला परिवार भित्रका यी तीन राजनीतिक हस्ती कसरी अघि बढ्छन् भन्नेमा सबैको नजर छ।

आगामी २४ देखि २६ मंसिरसम्म हुने कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री डा. शशांक र  डा. शेखर दुवै जना सभापतिको दौडमा छन् । बेलाबेला नेतृ कोइरालाले आफू पनि त्यो रेसमा रहेको जनाउ दिंदै आइरहेकी छिन् ।

महाधिवेशनकै शिलशिलामा मंगलबार डा. शशांक र डा. शेखरबीच केही संवादहरु अघि बढ्यो । महाधिवेशनमा दुईमध्ये एक जना अघि बढ्ने छलफल पनि भयो । र सोही छलफल अनुसार आज बुधबार बिहान दुई नेताले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने सहमति पनि बन्यो । सो पत्रकार सम्मेलनमा नेतृ सुजातालाई पनि ल्याउने तयारी थियो।

यी सबै तयारीका कुराहरु हिजो रातिदेखि आज बिहानसम्म महाराजगंज र वसुन्धारा हाइटबाट बाहिर चुहिंदै गयो। त्यो खबर बोहोराटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, चाक्सीबारीमा प्रकाशमान सिंह र झापामा कृष्णप्रसाद सिटौलाको कानसम्म पनि पुग्यो । र ती सबै शीर्ष सभापतिका आकांक्षी रहेका नेताहरुले पत्रकार सम्मेलनबाट आउने निष्कर्ष कुरिरहेका थिए ।

तर एकाएक बुधबार बिहान गर्ने तयारी भएको पत्रकार सम्मेलन रोकियो । महामन्त्री डा. शशांकको सचिवालयले भने महामन्त्रीको कार्यव्यस्तताका कारण पत्रकारसम्मेलन रोकिएको बताएको छ । 

‘महामन्त्रीज्यूको कार्यव्यस्तताका कारण पत्रकार सम्मेलन रोकिएको हो, अन्य कुनै कारण होइन,’ महामन्त्रीको सचिवालयले भन्यो ।

यस्तै डा. शेखरको सचिवालयले भने महामन्त्रीको सचिवालयबाटै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी आएको र अरु विषय थाहा नभएको बताएको छ ।

‘बिहान संयुक्त पत्रकार सम्मेलन गर्ने भन्ने नै थियो, तर भएन, किन भएन भन्ने थाहा भएन, महामन्त्रीकैबाटै पछि गर्ने भन्ने खबर आयो,’ डा. शेखरको सचिवालय स्रोतले भन्यो ।

उच्च स्रोतका अनुसार महामन्त्री कोइराला बुधबार बिहानै पत्रकार सम्मेलन रोकेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन वालुवाटार पुगेका थिए । तर उनको सचिवालयले भने महामन्त्री कोइराला महाधिवेशनकै शिलशिलामा जावलाखेलमा नेताकार्यकर्ताहरुसँगको भेटमा व्यस्त भएको जनाएको छ । अहिले भने उनी संखुवासभा गएका छन्।

यस्तै पत्रकार सम्मेलन रोकिएपछि डा. शेखर भने विराटनगरतर्फ लागेका छन्। 

चर्चा चलाइएको पूर्व निर्धारित पत्रकार सम्मेलन एकाएक रोकिएपछि अब कांग्रेसको आसन्न महाधिवेशनमा ‘कोइराला परिवारबाट सभापति पदमा एक मात्र उम्मेदवार बन्लान् त ?’ भन्ने विषयमा थप चासो नेताकार्यकर्ताहरुका बीचमा बढेको छ। र यो रोकिएको पत्रकार सम्मेलनले वालुवाटारको पर्खाल भित्र रहेका सभापति देउवालाई हौसाएको आँकलन गर्न थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ