arrow

कांग्रेस विधान

सभापतिमा दोस्रो मत ल्याउने केन्द्रीय सदस्य, अन्य हरुवा सभापतिले नचाहे ‘रिङ आउट’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली काँग्रेस १४औँ महाधिवेशनको सङ्घारमा छ । काँग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेतृ सुजाता कोइरालाको चर्चा छ।

काँग्रेस विधान अनुसार सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन्।

‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ।’ काँग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभाग सम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकार अन्तर्गत ६५ नम्बर बुँदामा सो सम्बन्धी स्पष्ट उल्लेख गरिएको छ।

काँग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भए अनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने व्यवस्था विधानमा प्रस्ट रहेको बताए।

‘विधानमा नै प्रस्ट रूपमा उल्लेख छ, जसअनुसार सभापतिपछिको दोस्रो बढी मत ल्याउने नेताको मात्रै केन्द्रीय समितिमा प्रतिनिधित्व हुन्छ, बाँकीलाई के गर्ने भन्ने विधानमा व्यवस्था छैन, सभापतिले चाहँदा मनोनीत हुने ठाउँ रहन्छ, नत्र केन्द्रीय समिति बाहिरै बस्ने हो,’ नेता विश्वकर्माले हाम्रा कुरासँग भने।

विधान अनुसार हेर्ने हो भने आगामी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने नेताहरू महाधिवेशनमा दोस्रो नम्बरमा नपरे केन्द्रीय समितिबाटै ‘रिङ आउट’ हुनेछन्।

विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय सभापतिको लागि मैदानमा उत्रिएकाहरू साँच्चै सभापतिमा भिड्छन् वा ब्याक हुन्छन् भन्ने प्रश्न अब देखिँदै जानेछ ।



नयाँ